दाङमा वर्षातले ठूलो जोखिम, डुबान हुन सुरु, महेन्द्र राजमार्गसहितका सडक अबरुद्ध

घोराही । असोज १८ गते रातिदेखि परेको अबिरल वर्षातका कारण दाङ जिल्ला जलमग्न भएको छ ।

शुक्रबार दाङका अधिकांश सडकहरु प्हिरोका कारण अबरुद्ध भएका छन् । दाङ र कपिलवस्तुको सिमाना धानखोला नजिकै बिजुलीको पोल ढल्नुका साथै पहिरो गएर सडक अबरुद्ध भएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको धानखोला क्षेत्रको पहिरोले सवारी साधनको लामो जाम भएको छ ।

घोराहीदेखि लमही सडक खण्डमा पनि पहिरो गएको छ । मुसोटको उकालोमा गएको पहिरोले सडक अबरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख (ईन्स्पेक्टर) झविन्द्र परियारले बताएका छन् । ईमिलियादेखि तुलसीपुरको सडकमा पनि पहिरोका कारण अबरुद्ध भएको छ ।

दाङका अबरुद्ध सडकहरु खुलाउने प्रयास भइरहेको ट्राफिक प्रमुख परियारले बताएका छन् ।

उता, देउखुरीमा पनि वर्षातका कारण डुबान सुरु भएको छ । राप्ती गाउँपालिकाको लठ्ठहवा र पहरवामा पनि डुबान सुरु भएको छ ।

लमही नगरपालिकाका केही स्थानमा पनि डुबान भएका छन् । गढवा गाउँपालिकाका अधिकांश स्थान जलमग्न भएका छन् । जेठानगाउँसहितका स्थानमा डुबान भएको छ ।

तुलसीपुरभन्दा पश्चिम र दक्षिणतर्फ पनि वर्षातले डुबान सुरु गरेको छ ।

वर्षातका कारण कच्ची घरहरु भत्किने अवस्थामा पुगेका छन् । जनजीवन संकटपूर्ण हुन थालेको छ ।

दाङका सुरक्षाकर्मीहरुले उच्च सतर्कताका साथ बसेका छन् । वर्षातले डुबान वा क्षति भएको स्थानमा तत्काल पुगेर उद्धार गर्ने कार्यहरु पनि गरेका छन् ।

Published : Friday, 2022 October 7, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया