दशैँका दिन देउवाको शक्तिशाली घोषणा र प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बुधबार नेपालीहरूको महान् चाड बडादशैं २०७९ को अवसरमा शुभकामना दिँदै देउवाले निर्वाचन निष्पक्ष र स्वतन्त्र हुने प्रतिबद्धता जनाएका हुन् ।

उनले सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।

देउवाले आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने बताएका छन् ।

ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने उनले बताएका छन् ।

प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने बताएका छन् ।

उनले समाजलाई सत्य धर्म, न्याय र सदाचारको मार्गमा अघि बढाउन हामीलाई प्रेरणा प्रदान गर्दै आएका चाड पर्वलाई शिष्ट र संयमित रूपमा मनाउँदै हाम्रो सांस्कृतिक परम्परा तथा मूल्य मान्यतालाई अक्षुण्ण र जीवन्त राख्न सबैमा आग्रह गरेका छन् ।

दशैंको अवसरमा प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना समेत गरेका छन् ।

Published : Wednesday, 2022 October 5, 7:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया