आज दशैँको टीका, कस्तो छ विधि र प्रक्रिया ?

काठमाडौं । दशैंको मुख्य दिन आज (बुधबार) मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ ।

सर्वसाधारणलाई टीका जमरा लगाउन साइत खोज्न पर्दैन । तर, राज्य सञ्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताएका छन् ।

‘राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो’, अधिकारीले भने, ‘साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ ’

घटस्थापनाका दिन दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

चन्द्रमालाई दाहिने र सम्मुख पारेर टीका लगाउनुपर्ने भएकाले टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्किंदा शुभ हुन्छ ।

आज (बुधबार) चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्नेछ ।

टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ ।

कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सकिन्छ ।

समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत बुधबार बिहान १० बजेर ३४ मिनेटमा तोकिदिएको छ ।

दशैँको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।

देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था छभने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष अधिकारीले बताए ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो ।

Published : Wednesday, 2022 October 5, 7:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया