आईजीपी सिंहद्धारा मौलो पूजा सम्पन्न, के छ मौलो पूजाको विशेषता ?

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बडा दशैँका अवसरमा मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।

आईजीपी सिंहले मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा सिंहले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाएका छन् ।

सिंहले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी सहायक हवल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरेका छन् ।

सो अवसरमा आईजीपी सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका छन् ।

पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो ।

उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् ।

मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिइन्छ ।

संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ ।

नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरेपश्चात हरेक वर्ष बडा दशैं र चैते दशैँमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।

देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।

Published : Tuesday, 2022 October 4, 1:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया