जड्याहाहरूलाई छोप्न प्रहरीलाई २४ हजार थान सामग्री प्रदान

काठमाडौं । विश्व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजरसहितका सामग्री प्रदान गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रबार आयोजित क्रार्यक्रमबीच संयुक्त रुपमा प्रहरीलाई ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामग्री हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दास र विश्व स्वास्थ्य संगठन नेपाल शाखाका प्रतिनिधि डा.एलिसनले नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका निमित्त प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तबहादुर कुँवरलाई सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

प्रहरी नायव महानिरीक्षक कुँवरले हस्तान्तरण भएका सामग्रीहरू सवारी साधनको बढी भीडभाड हुने स्थानमा रहेका ट्राफिक प्रहरी कार्यालयमा ब्रेथलाइजर वितरण गरिने बताए ।

महाशाखाका निर्देशक डा.चुमनलालले सवारी चालकहरूले मादक पदार्थ सेवन गरे/नगरेको परीक्षण गरी सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि नेपाल प्रहरीलाई सहयोग हुने बताए ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई ध्यानमा राखी दुर्घटना न्यूनीकरण गर्न उक्त सामग्रीहरू हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय व्यवस्थापक महाशाखाका निर्देशक डा.सर्वेश शर्मा, रोड सेप्टी काउन्सिलका प्रतिनिधि सरोज प्रधान, उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष ज्योति बानियाँ, स्वास्थ्य सेवा विभाग कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन महाशाखाका डा.रवीन्द्र बासकोटा र प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

Published : Friday, 2022 September 30, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया