काठमाडौं हत्याकाण्डका सुटर र योजनाकारहरू पक्राउ, ‘डेन्जर’ थियो घटना

काठमाडौं । लाल मोहम्मद अन्सारीको हत्याकाण्डका ३ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्सारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

प्रहरीले घटनामा सुटरहरूलाई पेस्तोल उपलब्ध गराउने वीरगञ्जका मोहम्मद महारामसहित ३ जनालाई पक्राउ गरेको जनाएको छ ।

पेस्तोल व्यवस्थापन गर्ने मोहम्मदलाई गत शुक्रबार वीरगन्जबाट पक्राउ गरिएको थियो ।

मकवानपुरकी एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले घटनाको केही दिनदेखि रेकी गरिरहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले मधेश प्रदेशबाट अर्का एक जना व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

असोज ३ गते काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो ।

मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए ।

घटनाका मुख्य योजनाकार लामो समयदेखि काठमाडौं बस्दै आएका नितिन मदन भएको आशंका गरिएको छ ।

घटनामा भारतीय आपराधिक समूह र उनीहरूको सहयोगीका रूपमा काठमाडौंमा रहेका व्यक्तिमाथि शंका गरिएको थियो ।

डिल्लीबजार कारागारमा रहेका बाराका इल्ताफ हुसेन अन्सारी, रसुवा कारागारमा रहेका उदय सेठ्ठी र विगतमा उनीहरूसँगै सक्रिय आपराधिक व्यक्तिको योजनामा घटना घटाइएको आशंकामा अनुसन्धान अघि बढेको आशंका प्रहरीले गरेको छ ।

हत्या गरिएका अन्सारी विगतमा जाली नोट कारोबार र व्यक्तिहत्या अभियोगमा कैद सजाय भोगेका व्यक्ति हुन् । अन्सारीको विगत विवादित थियो ।

घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो ।

प्रहरीले अन्सारीको हत्या अभियोगमा तीन जना आरोपितलाई पक्राउ गरेर सफलता प्राप्त गरेको छ । घटनाका दोषीलाई पक्राउ गर्न आईजीपी धिरजप्रताप सिंह मातहतलाई दवाव दिँदै आएका थिए ।

अन्सारीलाई गोली हानेर हत्या गर्न लागेका बेला दुई तलाबाट छोरी हामफालेर बचाउने प्रयास गरेकी थिइन् । तर, बाबुलाई छोरीले बचाउन सकिनन् ।

000

‘लाल मोहमदको गोली प्रहारबाट भएको हत्या सम्बन्धी’

मिति २०७९/०६/०३ गते अं.१८:३१ बजेको समयमा काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा नगरपालीका वडा नं. ८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट अगाडिको सडक खण्डसँगै रहेको खुल्ला स्थानमा सवारी साधन रोकी उक्त सवारी साधनबाट झर्ने क्रममा जिल्ला सर्लाही, सिसौरिया-६ स्थायी वतन भई काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा नगरपालीका वडा नं. ८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट रहेको घरमा बस्ने उक्त गार्मेन्टका सञ्चालक बर्ष ५८ को लाल मोहमद भन्ने मोहम्मद दर्जीलाई मोटरसाइकलमा आएका यकिन नामथर वतन नखुलेका अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी फरार भएका ।

तत्कालै निज लाल मोहमद भन्ने मोहम्मद दर्जीलाई उपचारको लागि शंखरापुर अस्पताल हुँदै त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा लगिएकोमा उपचारको क्रममा सोही अस्पतालमा अं. २१:३५ बजेको समयमा निजको मृत्यु भएको ।

उक्त घटना सम्बन्धमा प्रहरीको बिशेष टोलीद्वारा अनुसन्धानका बिविध बिधि र प्रबिधिसमेतको सुक्ष्म प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रही फरार रहेका निम्न लिखित ब्यक्तिहरुलाई काठमाण्डौ उपत्यका लगायतका बिभिन्न स्थानबाट नियन्त्रणमा लिइएको ।

निम्न:

क)पक्राउमा परेका ब्यक्तिहरू:

१. नामथरः- महोरम मियाँ ।

उमेरः- २१ बर्ष ।

ठेगानाः- जिल्ला पर्सा वीरगञ्ज म.न.पा.- वडा नं. १६ ।

भूमिकाः- योजनाकार तथा हतियार ब्यवस्थापन ।

२.नामथरः- रेहान मियाँ ।

उमेरः- १९ बर्ष ।

ठेगानाः- जिल्ला पर्सा वीरगञ्ज म.न.पा.- वडा नं. १५

भूमिकाः- योजनाकार तथा हतियार ब्यवस्थापन ।

३.नामथरः- सुमी भन्ने सुस्मिता स्याङताङ ।

उमेरः- २१ बर्ष ।

ठेगानाः- जिल्ला मकवानपुर बकैया गाऊँपालीका वडा नं. १ ।

हालः- जिल्ला काठमाण्डौ कपन फैकाचोक ।

भूमिकाः- मृतकको गतिविधिको निगरानी गर्ने ।

द्रष्टव्य: मिति २०७६।०३।११ गतेदेखि मिति २०७८।११।०७ गतेसम्म चोरी मुद्दामा केन्द्रिय कारागार सुन्धारामा कैद भुक्तान गरेको ।

क)बरामद दशी: (घटनास्थलबाट)

१.Made in USA लेखिएको पेस्तोल-१ ।

२.9 MM खोका थान-४ ।

३.9 MM जङ्गी राउण्ड-४ ।

उक्त घटनाको सम्बन्धमा प्रकरण क) मा उल्लेखित पक्राउमा परेका निज ३ जना उपर ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यान सम्बन्धी कसूर’ मुद्दामा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भई रहेको ।

Published : Friday, 2022 September 30, 3:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया