ठाउँमै कुकुर पुगेपछि ३६ घण्टामै अमनाका दोषी पक्राउ, सुरालको तुना चुँडिएको अवस्थामा फेला

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले ४० वर्षीया अमना खातुनको हत्या अभियोगमा आरोपीलाई पक्राउ गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरेर जिप्रका महोत्तरीका प्रहरी प्रमुख (एसपी) कृष्ण पंगेनीले अमनाको हत्या गरेको अभियोगमा २४ वर्षीय मोजाहिर अन्सारीलाई पक्राउ गरेको बताएका छन् ।

अमनाको असोज ७ गते शुक्रबार राति हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । अमना घाँस काट्न भनेर बिहान करीव ११ बजे हँसिया र पलाष्टिकको बोरा लिएर गएकी थिइन् । महिलाको हत्या भएको ३६ घण्टाभित्र प्रहरीले अपराधमा संलग्न एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । हत्याको घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको र खोजी भइरहेको एसपी पंगेनीले बताएका छन् ।

‘घटनास्थल लाशजाँच मुचुल्का हुँदा फेला परेको सेतो रंगको स्याण्डो गञ्जी प्रतिवादी मोजाहिर अंसारीले मेरो हो भनि सनाखत गरेको’, एसपी पंगेनीले भने, ‘लाशजाँच मुचुल्का हुँदा मृतक अमना खातुनको छाती, घाँटी र पेटको भागमा समेत धारिलो हतियारले घोचेको गहिरो घाँउ चोट रहेको छ ।’

अमनाको हत्यामा संलग्न मोजाहिर नशालु पदार्थ सेवनकर्ता पनि हुन् । मोजाहिरले अमनाको हत्या गरेको प्रारम्भीक बयान दिएको एसपी पंगेनीले बताएका छन् ।

प्रहरीले अनुसन्धानको क्रममा हत्या भएको स्थल वरपर मोजाहिरले नै देखिएका थिए ।

मोजाहिरले नै शवसमेत देखाएको तथा अनुसन्धानको क्रममा प्रहरीले ल्याएको तालिम प्राप्त कुकुरले पनि मोजाहिरको घर वरिपरी संकेत गरेको थियो ।

मोजाहिरको घरमा हत्यामा प्रयोग भएको फलामको पेचकस, रगत लागेको गञ्जीसमेत बरामद भएको एसपी पंगेनीले बताएका छन् ।

‘घटनास्थल लाशजाँच मुचुल्का हुँदा मृतकदेखि करीव १०० मिटरसम्म मृतकलाई घिसारेको डाम रहेको, मृतकको कुर्थाको गोजी च्यातिएको, सुरुवालको तुना चुँडिएको, चुराहरू फुटुको, माला–पोते चुँडिएको र कानको झुम्का निस्किएको अबस्थामा रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

मृतक अमनाले लगाएको पाउजु तथा नाकको नथुनीसमेत आरोपी मोजाहिरले शवबाट निकाली जलेश्वरस्थित एक सुन पसलमा ६ हजारमा बिक्री गरेका अनुसन्धानका क्रममा खुलेको छ ।

पाउजु प्रहरीले बरामद गरेको छ । नथुनी पसलवालाले गलाइसकेको अनुसन्धानमा खुलेको छ ।

शवसँगै टी–सर्ट र अन्य केही कपडाहरू बरामद भएको छ । बरादम भएका कपडासमेत आफ्नो भएको मोजाहिरले स्वीकार गरेको एसपी पंगेनीले बताएका छन् ।

000

जिल्ला प्रहरी कार्यालय महोत्तरी
( सुचना समन्वय तथा संप्रेषण शाखा)

“कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ”

घटनाको बिवरण

जिल्ला महोत्तरी, मटिहानी न.पा.वडा नं.१ बस्ने नथुनी अंसारीको बुहारी मो.अन्सारूल अंसारीको श्रीमती अ.बर्ष ४० की अमना खातुन मिति २०७९।०६।०७ गते बिहान अं.११;०० बजेको समयमा घाँस काट्न भनि घरबाट हसियाँ र प्लाष्टिकको बोरा लिई गएकोमा साँझ सम्म पनि घर फर्की नआएपछी छर छिमेकी तथा आफन्त समेतमा खोजतलाश गर्दा फेला नपरेपछी स्थानीय प्रहरी समेतलाई खबर गरी प्रहरी समेतले खोजतलाश गर्ने क्रममा ऐ.गतेको बेलुका अं.२१;४५ बजेको समयमा धिरापुर गाउँ देखि अ.१.५ कि.मि. पूर्व पर्ने बिगही खोलाको किनारमा पर्ने झिझाँ बगैँचाको बाँसघारीमा निज अमना खातुन मृत अबस्थामा फेला परेको भन्ने समेत व्यहोराको सूचना प्राप्त हुन आएको ।

प्रारम्भीक अनुसन्धानबाट खुलेका कुराहरू

१) यस कार्यालयबाट घटनास्थलमा खटि गएको अनुसन्धान प्रहरी अधिकृत सहितको टोलीले घटनास्थल, लाश जाँच मुचुल्का समेतको कार्य गरि प्रारम्भीक अनुसन्धान गर्दा अमना खातुनको मृत लाश फेला परेको स्थानमा सेतो रंगको स्याण्डो गञ्जी रगत लागेको अबस्थामा फेला परेको ।

२) घटनास्थल लाशजाँच मुचुल्का हुँदा मृतक देखी करीव १०० मिटर सम्म मृतकलाई घिसारेको डाम रहेको, मृतकको कुर्थाको गोजी च्यातिएको,सुरुवालको तुना चुट्टिएको, चुराहरू फुटुको, माला पोते चुट्टिएको र कानको झुम्का निस्किएको अबस्थामा रहेको ।

३) घटनामा संलग्न व्यक्तिको खोज तलास गर्ने क्रममा यस कार्यालयवाट खटी गएको टोलीले घटना वारदातको समयमा प्रतिवादी मोजाहिर अंसारी घटनास्थल वरपर रहेको भन्ने सुचनाको आधारमा निज मोजाहिर अंसारीलाई नियन्त्रणमा लिई सो घटना सम्बन्धमा अनुसन्धान गर्दा मृतक अमना खातुनलाई फलामको पेचकसले घाटी, छाती र पेटमा प्रहार गरी मृतकको सलले घाटीमा कसी हत्या गरेको भनि खुल्न आएको ।

४) घटनास्थल लाशजाँच मुचुल्का हुँदा फेला परेको सेतो रंगको स्याण्डो गञ्जी प्रतिवादी मोजाहिर अंसारीले मेरो हो भनि सनाखत गरेको ।

५) लाशजाँच मुचुल्का हुँदा मृतक अमना खातुनको छाति,घाटी र पेटको भागमा समेत धारिलो हतियारले घोचेको गहिरो घाँउ चोट रहेको ।

पक्राउ प्रतिवादी

१) नामथर- मोजाहिर अंसारी ।
उमेर- २४ बर्ष ।
बुबाको नाम- मनिफ अंसारी ।
वतन- जि.महोत्तरी, मटिहानी न.पा.वडा न.१ धिरापुर ।
पक्राउ मिति-२०७९/०६/०९ गते ।
पक्राउ स्थान- जि.महोत्तरी, मटिहानी न.पा.वडा न.१ धिरापुर स्थितबाट ।

बरामद भएको दशीका सामानहरू

१ ) घटनास्थलबाट प्रतिवादी मोजाहिर अंसारीको स्याण्डो गञ्जी रगत लागेको अबस्थामा बरामद भएको ।

२) प्रतिवादी मोजाहिर अंसारीको घरवाट घटना वारदातको समयमा लगाएको रातो रंगको सर्ट र निलो रंगको जिन्स पैन्ट र घटना वारदातमा प्रयोग गरेको पेचकस थान १ समेत बरामद भएको ।

३) प्रतिवादी मोजाहिर अंसारीले अमना खातुनलाई हत्या गरे पश्चात निज मृतकले खुट्टामा लगाएको चाँदीको पाउजु निकाली जलेश्वर स्थित सुनचाँदी पसलमा रु.४,०००/-(चार हजार)मा बिक्री गरेको मृतकको चाँदीको पाउजु थान २ समेत वरामद भएको ।

४) मृतकले लगाउने नाकको फुली समेत प्रतिवादी मोजाहिर अंसारीले जलेश्वरको सुनचाँदी पसलमा रु.२०००/-(दुई हजार) मा बिक्री गरेको र उक्त सुनको फुली सुन पसलेले गलाई सकेको खुल्न आएको ।

५) यस घटनामा अन्य व्यक्तिहरुको संलग्नता रहे,नरहेको सम्बन्धमा थप अनुसन्धान भई रहेको ।

यस घटनाको अनुसन्धान गर्ने क्रममा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र यस जिल्ला प्रहरी कार्यालय महोत्तरी बाट खटिएको संयुक्त प्रहरी टोलीले बिभिन्न पक्षहरूबाट अनुसन्धान गरेको (नियमित तथा प्राविधिक अनुसन्धान बिश्लेषण), कानून बमोजिम कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भई रहेको ।

                                                                                           सूचना अधिकारी
                                                                                                                 चन्देश्वर यादव
                                                                                                            प्रहरी नायव उपरीक्षक
                                                                                                      जिल्ला प्रहरी कार्यालय महोत्तरी
                                                                                                        सम्पर्क न.९८५४०९०१६१
                                                                                                                                                                                          मिति २०७९/०६/१२ गते । 
Published : Wednesday, 2022 September 28, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया