किशुनजी, गणेशमान र गिरिजाबाबु नमिलेकै कारण कम्युनिस्टहरू छिटो मौलाए : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले कांग्रेसभित्र एकले अर्कालाई सिध्याउने राजनीति गर्न नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा ओखलढुंगा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै खतिवडाले कांग्रेसलाई अरुबाट भन्दा पनि आफ्नैबाट खतरा रहेको बताए । २०४६ सालको उपलब्धीपछि कांग्रेसका शीर्ष नेताहरू नमिलेकै कारण कम्युनिस्टहरू छिटो मौलाएको खतिवडाले बताए ।

पूर्वसांसद समेत रहेका नेता खतिवडाले सबै नेता कार्यकर्ता मिल्नुपर्ने बताएका छन् । नेताहरू मिल्ने हो भने कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताए ।

उनले भने, ‘हामी आफै मिल्न सकेनौँ भने नेपालको इतिहाँसको परिणाम हेर्नुस् । एउटा राणाले अर्को राणालाई समाप्त गर्न लाग्नुभयो । एउटा राणाले अर्को राणालाई समाप्त गरेकै कारणले राणा शासन छिटोभन्दा छिटो अन्त्य भयो ।’

‘पञ्चायतमा पनि एउटा पञ्चले अर्को पञ्चको अस्तित्व स्वीकार नगर्ने, एउटा साथीले अर्कोलाई स्वीकार नगर्ने, पञ्चेहरूको पार्टी पञ्चायतमा छिटै अन्त्य भयो’, उनले भनेका छन् ।

‘२०४८ साल पछाडि किशुनजी, गणेशमान सिंह र गिरिजाबाबु एकतावद्ध भएर पार्टीमा रहनुभएको थियो भने यति छिटो नेपालमा कम्युनिस्ट बाहुल्यता हुने थिएन’, खतिवडाले भने, ‘नेताहरूको बेमेलका कारणले त्यो परिस्थितिको सिर्जना भयो ।’

नेता खतिवडाले भने, ‘२०६४ सालपछि पनि प्रचण्ड, बाबुराम र मोहन बैद्यहरू एकीकृत रुपमा गएको भए माओवादीको शासन यति छिटो ढल्दैन थियो ।’

‘२०६४ पछि पनि गिरिजाप्रसाद कोइराला र ज्ञानेन्द्र शाहको बीचमा ठूलो टकराव नआएको भए यति छिटो राजतन्त्र अन्त्य हुँदैन थियो’, खतिवडाले भने, ‘२०७४ पछाडि सभापति शेरबहादुर देउवा यति छिटो प्रधानमन्त्री हुनुहुन्छ भन्ने हामीलाई पनि लागेको थिएन । केपी ओली, प्रचण्ड र माधव नेपालको बेमेलका कारणले गर्दा यति छिटो उहाँहरूको पार्टी धरासायी हुनु पर्‍यो ।’

उनले भने, ‘कांग्रेसभित्र पनि हामी साथीहरू एकआपसमा मिल्यौँ भने, एउटाले अर्कोलाई सक्न लाग्यौँ भने हामीलाई कसैले सक्नुपर्दैन आफै सक्किने छौँ । हामीले एकताको सन्देश दिनुपर्छ ।’

‘इतिहाँसले देखाएको छ एउटाले अर्कोलाई सक्ने, अर्कोले अर्कोलाई सक्ने गर्दा पहिला सकिने पालो हाम्रै हुन्छ’, खतिवडाले भने, ‘ओखलढुंगा कांग्रेस एकताबद्ध भएर लागोस् ।’

नेता खतिवडाले भने, ‘काठमाडौं र ओखलढुंगाबीचको निकै राम्रो सम्बन्ध छ । यहाँ कतिपय साथीहरूको काठमाडौंमा मतदाता नामावलीमा नाम छ ।’

‘ओलखढुंगामा मतदाता नामावली हुने साथीहरू ओखलढुंगामा गएर कांग्रेसलाई विजयी गराउन लाग्नुस्’, खतिवडाले भने, ‘जसको काठमाडौंमा छ त्यसले यो वा त्यो नभनेर कांग्रेसका महामन्त्रीको एकलनाम सिफारिस भएको छ, सबैले उहाँलाई मतदान गरेर जिताउन सबै लाग्नुपर्छ ।’

उनले भने, ‘पत्रपत्रिकामा समाचार पनि लेखाइए । रामहरि खतिवडा र गगन थापाका बीचमा विभेद छ, एउटाले अर्कोलाई हराउन लागे भनेर समाचार आयो । म पार्टीको सच्चा कार्यकर्ता हो । मेरो सभापति शेरबहादुर देउवा हो । मेरो महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा हो । मेरो उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ ।’

‘पार्टीले गरेको निर्णयबाट हामीले यता र उता नगरेर सम्पूर्ण पार्टी र नेतालाई जिताउनुपर्छ’, खतिवडाले भनेका छन् । उनले ओखलढुंगामा कांग्रेस पराजित हुँदा जिल्लाको समृद्धि र विकासमा कमजोर भएको बताएका छन् ।

खतिवडाले कांग्रेसले जित्दा मात्रै देशको विकास र उन्नति हुने बताए । उनले कांग्रेस कमजोर हुँदा ओलढुंगा कमजोर भएको बताए ।

कार्यक्रममा महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप सुनुवारसहितका ओखलढुंगा कांग्रेसका नेता कार्यकर्ताको उपस्थिति थियो ।

Published : Tuesday, 2022 September 27, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया