गौरवमय इतिहास बोकेको संगठनको सदस्य हुनु पाउनु आफैंमा सम्मानको विषय : आईजीपी सिंह

भरतपुर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह प्रहरीले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेको बताएका छन् ।

नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा आइतबार आयोजित कार्यक्रममा संचालित २–१७७औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन कार्यक्रममा सिंहले जिम्मेवारी निर्वाहका क्रममा विषम् परिस्थितिमा पनि धैर्यवान रही नेपाल प्रहरीले आफूलाई उत्कृष्ट सावित गर्दै आएको बताए ।

‘नव–प्रवेशी प्रहरी अधिकृतहरूलाई प्रहरी सेवालाई केवल पेशाको रुपमा मात्र नलिई राष्ट्र र नागरिक सेवामा आफ्नो विशिष्ट पहिचान बनाउन निर्देशन गर्दछु’, आईजीपी सिंहले भनेका छन् ।

सिंहले हिंसाजन्य एवम् अमानवीय व्यवहारलाई समाजमा कुनै स्थान दिन नहुने र कुरीतिजन्य आचरण तथा व्यवहारले समाजको सुन्दरतालाई कुरूप पार्ने उल्लेख गरेका छन् । उनले आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराई नेपाल प्रहरी नागरिक आस्था र भरोसाको केन्द्रको रुपमा स्थापित हुने गरी काम गर्ने समेत आग्रह गरेका छन् ।

कुनै पनि प्रकारका अवाञ्छित गतिविधि, गैरकानूनी क्रियाकलापलाई निर्ममतापूर्वक नियन्त्रण र निस्तेज गरी कानूनी राज्यको प्रवर्द्धन गर्न दृढ संकल्पित रही आफ्नो कर्तव्यको दौरानमा त्यसको पूर्ण कार्यान्वयन गर्न उनले प्रशिक्षार्थीहरूलाई निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको वृत्ति विकासलाई मध्यनजर गरी संगठनले विभिन्न विश्वविद्यालय र तालिम संस्थाहरूसँग सहकार्यको थालनी गरेकोले आगामी दिनमा प्रविधिको प्रयोग, भौतिक पूर्वाधारको उल्लेख विकास, स्रोतसाथन र उचित तालिमको अवसरले प्रहरीको व्यावसायिकतामा थप निखार थपिने विश्वास व्यक्त गर्नुभयो ।

शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दीप भण्डारीले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराएका छन् ।

तालिम संयोजक प्रहरी उपरीक्षक प्रकाश मल्लले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७८ असोज १३ गतेदेखि संचालित उक्त तालिममा ३८ जना महिलासहित कुल ५ सय १ जना प्रशिक्षार्थीहरू दीक्षित भएको जानकारी दिएका छन् ।

दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ–आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गरेका छन् ।

समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, जिल्ला अदालत चितवनका न्यायाधीस रितेन्द्र थापा, राष्ट्रिय भूमि आयोग चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिना, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रविक्रम महत, विभिन्न सरकारी तथा गैह्र साकारी कार्यालयका कार्यालय प्रमुख तथा अन्य आमन्त्रित महानुभावहरूको समेत उपस्थिति रहेको थियो ।

यसैबीच, संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस र कोसोभोस्थित अनमिक मिसनमा खटी जाने प्रहरी टोलीलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले शुक्रबार आयोजित एक कार्यक्रमबीच बिदाई गरेका छन् ।


Published : Sunday, 2022 September 25, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया