गगनका ससुराखलक सबैलाई टिकट चाहियो, नत्र देशभरि विद्रोही उठाउने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाका ससुराखलकका सबैले टिकट माग गरेका छन् ।

गगनका आफ्नै ससुरा अर्जन नरसिंह केसी, अर्जुनका भाईहरू केदार नरसिंह केसी र जगदीश नरसिंह केसीले टिकट माग गरेका छन् ।

नुवाकोट कांग्रेस भताभुङ बनाएको केसी परिवारले केन्द्रमा पनि गुटका बैठक र भेला गरेर कांग्रेसलाई निर्वाचनको मुखमा कमजोर बनाउने हर्कत गरिरहेको छ ।

जगदीश नरसिंह केसी नुवाकोट कांग्रेसको सभापति हुँदासम्म परिवारभन्दा बाहिर कांग्रेसको नेतृत्व जान दिएनन् । अहिले नुवाकोट कांग्रेसको नेतृत्व केसी परिवारबाट फुत्किएको छ ।

तैपनि केसी परिवारका सबैलाई टिकट चाहिएको छ । जगदीश नरसिंहले पहिला समानुपातिकमा टिकट पाएर प्रतिनिधि सभामा सांसद बने । प्रदेश सभामा टिकट पाएर कम्युनिस्टसँग नराम्रोसँग पराजित भएका थिए ।

अर्जुन नरसिंहले प्रतिनिधि सभामा टिकट पाएर कम्युनिस्टसँग पराजित भए । अहिले आएर अर्जुन नरसिंहले आफ्ना अर्का भाई केदार नरसिंह केसीलाई प्रतिनिधि सभातर्फ समानुपातिकमा अगाडि नै राखेका छन् । अर्जुन नरसिंहले प्रत्यक्षमा टिकट मागेका छन् ।

जगदीश नरसिंहले पनि टिकट माग गरेका छन् । केसी परिवारलाई मात्रै टिकट दिने हो भने कांग्रेसका अरु नेताहरू हेरेर मात्रै बस्ने हो ? प्रश्न उठेको छ । केसी परिवारले मन्त्री, सांसदसहित सबै कुरामा नुवाकोटबाट अवसर लिइरहेको छ ।

कांग्रेसका बैठकहरूमा महामन्त्री गगन थापाले आफ्नो ससुरालीखलकलाई टिकट माग गरेर बबण्डर मच्चाएका समाचार बाहिर आइरहेका छन् । गगन आफू स्वयं काठमाडौं– ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्न लागेका छन् ।

स्थानीय तहको अघिल्लो चुनावमा अर्जुन नरसिंह केसीले आफ्ना बहिनी ज्वाइँलाई पोखरा महानगरपालिकाको मेयरको टिकट पनि दिएका थिए । अर्जुन नरसिंहका ज्वाइँ एमालेसँग झण्डै दोब्बर मतले नराम्रोसँग पराजित भएका थिए ।

जगदीश नरसिंहले समानुपातिकको बन्द सूची नसच्याइए र टिकट वितरणमा एकलौटी गरिए चुनावमा भाग नलिने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा नेता शेखर कोइराला समूहको नाममा खबरदारी सभा गरेर जगदीश नरसिंहले समानुपातिक र प्रत्यक्षतर्फको टिकटमा कम्तिमा ४० प्रतिशत नपाए आफ्नो समूह बाहिरै बस्ने बताएका छन् ।

‘कांग्रेसमा ६०/४० को सुरुवात शेरबहादुर देउवाले थालनी गरेको हो’, जगदीशले भने, ‘उहाँले गिरिजाप्रसाद र सुशील कोइरालासँग ४० प्रतिशत लिनुभएको हो । अहिले पनि सम्मानजनक रूपले समानुपातिक र प्रत्यक्षमा टिकट नपाउने हो भने देउवा पक्ष निर्वाचनमा एक्लै लडे हुन्छ, हामी बाहिर बसेर रुख चिन्हमा भोट हाल्छौँ ।’

जगदीशले समानुपातिकको सूची नसच्याइए अर्को विकल्पका लागि तयार रहन समेत उनले चेतावनी दिएका छन् । खबरदारी सभाको सभापतित्व गरेका जगदीशकै अगाडि नेताहरूले टिकट र अवसर नपाए देशभरि उम्मेदवार उठाउने चेतावनी दिएका छन् । उनीहरूले कांग्रेसलाई हराएर धुलोपिठो पार्ने चेतावनी दिएका छन् ।

जगदीशले देउवाले गठबन्धनका दलहरूलाई १८ घण्टा दिने तर, पार्टीभित्रका इतर समूहका नेतालाई १८ मिनेट पनि समय नदिएको बताएका छन् ।

खबरदारी सभामा केन्द्रीय सदस्य दिनेश कोइराला, प्रकाश रसाईली, प्रतिमा गौतम, अजयबाबु सिवाकोटी, नेताहरू मोती भण्डारी, मोहन बस्नेत, ऋषिराम घिमिरे, गुरुराज घिमिरे, तेजुलाल चौधरी, विकास लामा, रमेश धमला, प्रचण्ड न्यौपाने, मनोजमणि आचार्य, भुपेन्द्रजंग शाही लगायतका नेताहरूको उपस्थिति रहेको छ ।

Published : Saturday, 2022 September 24, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया