सबैले टिकट पाउने सम्भावना छैन, टिकट पाउनेलाई जिताउनुपर्छ : खाण

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले सबै आकांक्षीहरूलाई टिकट सम्भव नभएकाले पार्टी निर्णयलाई मानेर पालो पर्खन आग्रह गरेका छन् ।

शनिबार रुपन्देहीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता समेत रहेका खाणले टिकट पाउने जित्न र नपाउने जिताउने गरी निर्वाचनमा खटिन आग्रह गरे ।

उनले निर्वाचनमा सबै उम्मेदवार बन्न सम्भव नरहेकाले राजनीतिक व्यक्तिले बुद्धको जीवनीबाट सिकेर शान्त बस्नुपर्ने बताएका छन् ।

उनले भने, ‘अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्नेछ ।’

गौतम बुद्धको जस्तै भावना लिएर अगाडि बढे राजनीतिमा एकदिन सफलता मिल्ने उनको बताएका छन् ।

नेता खाणले टिकटका आकांक्षीहरू धेरै भएकाले सबै उम्मेदवार बन्न नसक्ने बताए । उनले सबैलाई टिकट दिन पनि असम्भव रहेको बताएका छन् ।

टिकट पाएका उम्मेदवारलाई सहयोग गर्न खाणले आग्रह गरेका छन् ।

खाणले सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने बताएका छन् ।

गृहमन्त्री खाणले भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको उद्घाटन पनि गरेका छन् ।

उनले शताब्दी पुरुष सत्यमोहन जोशीको आजीवन रेखदेख, औषधोपचार सरकारले गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

Published : Saturday, 2022 September 24, 3:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया