आफ्नैले छाडेपछि एक्लिएका ओलीद्वारा विरोधी तह लगाउन अरिंगाल परिचालन

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले विरोधीहरूविरुद्ध अरिंगाल परिचालन गर्ने घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा युवा संघ नेपालको राष्ट्रिय प्रचार भेलामा बोल्दै ओलीले अरिंगाल बनेर खनिन निर्देशन दिएका छन् । उनले एमालेविरुद्ध भ्रम फैलाउनेहरूमाथि अरिंगाल भएर खनिन युवाहरूलार्ई निर्देशन दिएका छन् ।

ओलीले मिडिया र सोसल मिडिया प्रयोग गरेर एमालेमाथि प्रहार हुन सक्ने बताएका छन् ।

ओलीले पार्टीका युवाहरूले बाहिरबाट भइरहेको आक्रमणको सशक्त प्रतिवाद नगरेको बताएका छन् ।

‘कहिले साइबर सेना, कहिले साइबर सर्कल भन्या सुन्छु’, ओलीले भने, ‘न सेना बन्यो, न सर्कल बन्यो । अस्ति भर्खर पार्टीका एक जना नेताविरुद्ध धूमधामको आक्रमण भयो ।’

ओलीले भने, ‘कोही बोल्दै बोलेन । मानिलिऊँ उ एक्लै छ जस्तो परिस्थिति सिर्जना भयो ।’

‘कतिपय त आफ्नै साथीहरू पनि विपक्षीको भड्काउमा लागे’, ओलीले भनेका छन् ।

ओलीले भनेका छन्, ‘गठबन्धनको धम्की देखाउँछ भने जहिलेसुकै लड्न तयार हुनुपर्छ ।’

उनले विगतमा पार्टीका युवालाई अरिंगल भएर जाइलाग्न दिएको निर्देशन पनि बताएका छन् ।

‘मैले त्यसोभन्दा मान्छेहरूलाई के–के न भयो’, उनले भने, ‘अहिले पनि भन्छु, अरिंगल लगाउने नै हो ।’

ओलीले भने, ‘हाम्राविरुद्ध सारा सञ्चारमाध्यम लगाउनुहुन्छ, झुसे बारुला भएर खनिनुहुन्छ भने हामी अरिंगाल बन्न नहुने ? हाम्रा विरुद्ध फैलाउने झूट, भ्रम र गलत प्रचारलाई अरिंगल बनेरै ध्वस्त पार्नुपर्छ ।’

‘फेरि ६ महिना कराउन् यिनीहरू । एमालेको युवा पंति अरिंगाल हो । कराइराखुन्’, ओलीले भनेका छन् ।

‘मेरो जुंगा कालो कालो हुन थाल्या छभन्दा यति डराए कि दुई चार महिना जुंगाको पछाडि कुदे’, ओलीले भनेका छन् ।

‘मैले कालो त दल्या थिएन । अहिले पनि म भन्छु लोकतन्त्रको रक्षाका लागि लड्नुप¥यो भने मेरो उमेर ५० वर्ष अगाडि फर्किन्छ’, उनले भने, ‘५० वर्षअगाडिको बैश निकालेर अधिनायकवादका विरुद्ध लड्न तयार छु ।’

ओलीले लोकतान्त्रिक पद्धति र अभिव्यक्ति स्वतन्त्रताप्रति बेलाबेला प्रहार गर्ने गरेका छन् । यो आरोप ओलीलाई लाग्दै आएको छ ।

कार्यक्रममा एमालेका महेश बस्नेतसहितका नेता कार्यकर्ताको उपस्थिति थियो ।

ओलीको अधिनायकवाद र निरंकुशताका कारण एमाले र तत्कालीन नेकपा विभाजन भएको छ । तैपनि ओलीमा सुधार छैन । बरु विरोधीलाई ठेगान लगाउन अरिंगाल परिचालनको निर्देशन दिएका छन् ।

Published : Friday, 2022 September 23, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया