प्रहरीको सफलतापछि काण्ड मच्चाउने अनुरूद जेल चलान, महिलामाथि नजर लगाउने हर्कत

काठमाडौं । महोत्तरी जिल्ला अदालत, जलेश्वरले मिटर व्याजको अभियोगमा पक्राउ परेका ४० वर्षीय अनुरूद साहलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।

जिल्ला अदालतले साहलाई बुधबार पुर्पक्षका लागि जेल चलाउन गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख (एसपी) कृष्ण पंगेनीले बताए ।

साहविरुद्ध महोत्तरीको भंगहा नगरपालिका– ५ मा बस्ने ३४ वर्षीया चन्द्रकला महरा समेतको जाहेरीले साहलाई प्रहरीले पक्राउ गरेर मिटर व्याजको अभियोगमा मुद्दा चलाएको छ ।

पक्राउ परेका साह महोत्तरीको भंगहा नगरपालिका– निवासी हुन् ।

साह समेत भएको ठगी, अपराधिक विश्वासघात, लिखतसम्बन्धी कसूर तथा संगठित अपराध मुद्दा अनुसन्धानको सिलसिलामा भदौ ४ गते प्रहरीले पक्राउ गरेको थियो ।

उल्लेखित मुद्दा आवश्यक अनुसन्धान पश्चात जिल्ला सरकारी वकील कार्यालय महोत्तरीमार्फत महोत्तरी जिल्ला अदालत, जलेश्वरमा पेश गरिएको एसपी पंगेनीले बताए ।

महोत्तरी जिल्ला अदालत, जलेश्वरको असोज ५ गतेको आदेशले साहलाई पुर्पक्षको लागि थुनामा राख्न कारागार कार्यालय जलेश्वर, महोत्तरी चलान भएको पंगेनीले बताए ।

साहले ४ गुना बढिको कागज गर्ने गरेको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको थियो । पैसा दिएपछि पनि कागज फिर्ता नगर्ने साहको हर्कतबाट पीडितहरू हैरान भएका थिए । साहले पुनः पीडितविरुद्ध मुद्दा गर्ने गरेका थिए ।

मिटर व्याजी साहले ऋणी महिलाको इज्जतमा समेत खेल्ने गरेको भन्ने आरोप लागेको छ । सो विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

साहले सयकडा महिनाको ५ प्रतिशतसम्म ब्याज असुल्ने गरेका थिए ।

मिटर व्याजी साहविरुद्ध प्रहरीमा १९ जनाको जाहेरी परेको थियो । सोही जाहेरीका आधारमामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

मिटर व्याजी साहले आफूसहित परिवारका अन्य ८ जना सदस्यको नाममा जग्गा जमीन किनेको आरोप लागेको छ ।

जेल चलान भएका साहको नाममा मिटर व्याजबाट आएको कमाइबाट २३ बिघा जमीन र परिवारका सदस्यहरूको नाममा समेत गरि करिब ९३ बिघा जमीन जोडेको प्रारम्भीक अनुसन्धानका क्रममा देखिएको छ ।

मिटर व्याजी साहको गैरकानूनी सम्पति अनुसन्धानको लागि सम्पति शुद्दीकरण अनुसन्धान बिभागमा कागजात पठाइने प्रहरीले जनाएको छ ।

ठगी, अपराधिक विश्वासघात मुद्दाका प्रतिवादी (मिटर व्याजी) पक्राउ

घटनाको बिवरण

मिति २०७७ सालको अषाढ महिना २५ गतेका दिन मैले घर व्यबहार चलाउन प्रतिवादी अनुरुद साहसंग ३ महिनाको भाका राखी रू ५०,०००/-(पचास हजार) रकम ऋण लिएकोमा, तोकेको ३ महिनाको अबधी भित्र दुई पटक रु २०/२० हजारको दरले रू ४०,०००/- र एक पटक रू.१० हजार गरी रू.५०,०००/-(पचास हजार) रकम फिर्ता दिएकोमा अनुरूद साहले रू ९,००,०००/-(नौ लाख) को कागज गराई राखेको छु, मेरो पैसा फिर्ता गर, नगरे अदालतमा लेनदेन मुद्दा दिन्छु भनि मलाई धाक धम्की दिदाँ निज अनुरुद साहले मसंग तमसुक गराई राखेको कागज नच्याति राखेको भन्ने कुरा थाहा पाई मलाई ठगी तथा अपराधिक बिश्वासघातको कसुर गरेको हुदाँ निज प्रतिवादीलाई हदैसम्मको कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जिल्ला महोत्तरी भंगहा न.पा.वडा नं.५ बस्ने राज कुमार महराको श्रीमती चन्द्रकला महराको जाहेरी दरखास्त यस कार्यालयमा पर्न आएको ।

साथै निज अनरूद साहले बिभिन्न मितिमा १३ जना व्यक्तिहरू सँग रू.२०,३३,०००।- ठगि गरेको भन्ने व्यहोराको उजुरी श्री जिल्ला प्रशासन कार्यालय महोत्तरी मार्फत प्राप्त भई सो सम्बन्धमा समेत थप अनुसन्धान भई रहेको ।

अनुसन्धान बिवरण

१) चन्द्रकल महराको जाहेरी दरखास्तलाई यस कार्यालयको कसूर दर्ता कितावमा मिति २०७९।०४। गते मु.द.न.५७ (२०७८/०७९) मा ठगी, अपराधीक लाभ मुद्दा दर्ता गरी अनुसन्धान गर्ने क्रममा निज प्रतिवादी अनुरूद साहलाई मिति २०७९।०५।०४ गते साँझ अ.१८;३० बजेको समयमा जि.महोत्तरी, भंगहा न.पा.वडा न.५ सितापुर भंगहाबाट पक्राउ गरिएको ।
२) ऐ.मितिमा तत्कालै जिल्ला धनुषा, जनकपुर उ.म.न.पा.वडा न.७ स्थित निज बस्ने गरेको ससुराली घर कोठाको कानून बमोजिम तलाशी गर्दा बिभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी थान-९ र मूल्य रू.७१,४४,३५०।- (अक्षेरूपी एकहत्तर लाख चवालीस हजार तीन सय पचास ) बराबरको कपाली कागज (तमसुक) पाना ७ बरामद गरीएको ।

३) आज मिति २०७९।०५।०५ गते निज प्रतिवादी अनुरूद साहलाई हिरासतमा राखि अनुसन्धान कार्य गर्नको लागी सम्मानीत महोत्तरी जिल्ला अदालत, जलेश्वरबाट मिति २०७९।०४।०४ गतेबाट लागु हुने गरी दिन-५ (पाँच) को म्याद थप अनुमती लिई अनुसन्धान कार्य भई रहेको ।

४) अनुरूद साहबाट ठगिएका तथा आर्थिक शोषणमा परेका पीडित व्यक्तिहरू बाट निजको बिरूद्दमा थप जाहेरी लिने कार्य भई रहेको ।

५) पक्राउ प्रतिवादी अनुरूद साहको बिरूद्दमा संजिला देवी सहित १४ जनाले यस कार्यालयमा दिएको जाहेरी दरखास्त आ.व.२०७७/०७८ को मु.द.न.२४९ मिति २०७७।१०।२९ गते ठगी शिर्षकमा दर्ता भएको, निज अनुरूद साह पक्राउ परी निज बिरूद्द रू.४२,९२,१९०।- बिगो दावी सहितको मुद्दा सम्मानीत महोत्तरी जिल्ला अदालत, जलेश्वरमा दर्ता हुँदा निज प्रतिवादी रु.१,५०,०००।- धरौटी राखि तारेखमा छुटेको, उक्त मुद्दा हाल सम्मानीत महोत्तरी जिल्ला अदालत, जलेश्वरमा बिचाराधीन अबस्थामा रहेको ।

पक्राउ परेका प्रतिवादी

१) नामथर- अनुरुद साह ।
उमेर- ५० बर्ष ।
बुबाको नाम- रामचन्द्र साह ।
वतन- जि.महोत्तरी, भंगहा न.पा.वडा न.५ ।
पक्राउ मितिः-२०७९।०५।०४ गते ।
पक्राउ स्थान- जि.महोत्तरी, भंगहा न.पा.वडा न.५ स्थित निजकै घरबाट ।

Published : Wednesday, 2022 September 21, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया