एसएसपी बोहराले पदक पाएकै दिन काठमाडौंमा व्यापारीको हत्या, एआईजी धानुकको आलोचना

काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख (एसएसपी) भरतबहादुर बोहराले सुप्रवल जनसेवाश्री पदक पाएकै दिन काठमाडौंमा गोली प्रहार गरेर व्यापारीको हत्या भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको हो ।

सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुई वटा र दाहिने तिघ्रामा एउटा गोली लागेको छ ।

त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्रबहादुर धानुकले बताएका छन् ।

रातो टिर्सट, जिन्स लगाएको तथा मोटरसाइकलमा आएका व्यक्तिले मोहम्मदलाई गोली हानेका थिए ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरूमा कडाई भएको जनाइएको छ ।

अज्ञात समूहले कपडा व्यवसायी ५५ वर्षीय मोहमम्द दर्जीमाथि गोली प्रहार गरेर भागेको प्रहरीको भनाइ छ । उनलाई तीन राउण्ड गोली लागेको थियो ।

रामप्रसाद गौतमको बा ६ च ५१५१ नम्बरको गाडीबाट गोठाटारमा झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भएको थियो ।

मोहम्मद जोरपाटीबाट कपडा प्याक गर्ने प्लास्टिक लिएर गोठाटार फर्किएका थिए ।

गाडीका चालक रामप्रसाद गौतमले उनलाई गाडी खोलेर ओर्लिनासाथ गोली हान्न थालेको बताएका छन् ।

प्रत्यक्षदर्शी शंकर दाहालले बताएअनुसार मोटरसाइकलमा आएकाहरूले उनीमाथि गोली चलाएका थिए । गोली चल्न थालेपछि मोहम्मदले गाडीको वरिपरि घुम्दै भाग्दाभाग्दै तीन राउण्ड गोली लागेको थियो ।

गोली चलेको सुनेपछि घरभित्र रहेकी मोहम्मदकी छोरी एक तलामाथिबाट हामफालेर गोली हान्नेलाई लखेट्दै गएको घटनास्थलको सीसीटीभी फुटेजमा देखिएको छ ।

गोली हान्ने समूह मोटसाइकल चढेर भागेको छ । मोटरसाइकलमा आउँदा दुई जना आएको र भाग्ने क्रममा तीन जना गएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलबाट पेस्तोल बरामद भएको छ । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरूमा कडाइ गरिएको छ । काठमाडौं प्रहरी प्रमुखको एसएसपी बोहराले जिम्मेवारी सम्हाले लगत्तै व्यापारीको गोली हानेर हत्या भएको छ ।

काठमाडौं उपत्यकाको प्रहरी प्रमुखको जिम्मेवारी रविन्द्रबहादुर धानुकले सम्हालेका छन् । व्यापारीको गोली हानेर हत्या भएपछि एआईजी धानुक र एसएसपी बोहराको कमाण्डमाथि प्रश्न उब्जिएको छ । धानुक र बोहराले राजनीतिक पावर लगाएर सरुवा लिएर आएको आरोप लागेका बेला काठमाडौंभित्र हत्या काण्ड भएको छ ।

Published : Monday, 2022 September 19, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया