बागलुङ घर भएका गुण्डा ‘सलामी’ हतियारसहित बुटवलमा पक्राउ

बुटवल । रुपन्देहीको बुटवलमा प्रहरीले हतियारसहित ३३ वर्षीय सन्तोष सलामीलाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो बुटवल उप–महानगरपालिका–९ इटाभट्टास्थित होटल नमोबुद्धबाट सलामीलाई १ थान रिभल्वर पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ३ राउण्डसहित पक्राउ गरिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

सलामी बाग्लुङको दगाटुन्डाडा घर भई हाल बुटवल महानगरपालिका–८ सुख्खानगरमा बसेका थिए । सलामीले गुण्डागर्दी गर्नका लागि अबैध हतियार बोकेको आरोप छ ।

होटल नमोबुद्धको १०४ नम्बरको कोठामा सलामी बिहीबार बेलुकीदेखि शंकास्पद अवस्थामा बसेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा र उनको शरीर तलासी गर्दा पेस्तोल र गोली फेला पारेको थियो ।


पक्राउ परेका सलामीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

उता, झापामा प्रहरीले १७ वर्षीया र ११ वर्षीया दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिलमणि पौडेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक–पटक जबरजस्ती करणी गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता, ललितपुरको गोदावारी नगरपालिका–१४ हाडेगाउँ डेरा गरी बस्ने बागलुङ घर भएकी अम्बिका बुढाथोकीको कोठामा पाहुना आएका बागलुङको बुर्तीबाङ घर भएका २० वर्षीय जनक खत्री सुतेकै ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी, झापाको कचनकवल गाउँपालिका–१ पुरनबस्ती बस्ने २५ वर्षीया मुन्नी राजवंशी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

झापाकै शिवसताक्षी नगरपालिका–७ नहर चोकस्थित कन्काई सिँचाई आयोजनाको नहरमा हाल नाम, थर, वतन, नखुलेका ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

Published : Friday, 2022 September 16, 4:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया