कांग्रेसबाट जितेका वडाध्यक्षले काठमाडौंमै बालेनको शैली अपनाए, बालेनको डोजर खोसाखोस

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता मुकुन्द रिजालले अबैध संरचनाहरू भत्काइदिएका छन् ।

वडा नं. १६ का विभिन्न स्थानमा सरकारी संरचना मिचेर बनाइएका भवन र टहराहरू वडाध्यक्ष रिजाल आफै उपस्थित भएर भत्काइदिएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र शाह ‘बालेन’ले धमाधम अबैध संरचना भत्काइदिएका बेला वडाध्यक्ष रिजालले पनि कानूनी प्रक्रियामार्फत ती अबैध भौतिक संरचना भत्काएका छन् ।

बालेनकै शैलीमा कालो चस्मा लगाएर सडकमा आएका वडाध्यक्ष रिजालले आफू समाज परिवर्तनका लागि नैतिकता र सिद्धान्तको राजनीति गरेको बताए । उनले आफूलाई भविष्यको चिन्ता नरहेको बताए ।

अबैध संरचना भत्काउन खोज्दा विगतमा राजनीतिक पावर लगाएर आफूलाई काम गर्न अबरोध गर्नेहरूकै कारण काठमाडौं महानगर कुरुप बनेको बताए । उनले राजकुलो मिच्नेहरूलाई पनि नछाड्ने बताएका छन् । उनले राजकुलोमा बनाइएका संरचना भत्काउन चेतावनी दिएका छन् । आफै नभत्काइएका डोजर ल्याएर आफैले भत्काइदिने वडाध्यक्ष रिजालले बताएका छन् ।

अबैध संरचना भत्काइदिने बेला सम्बन्धित जग्गा र घरधनीले वडाध्यक्ष रिजाललाई देख्लास्, पख्लास् भनेर धम्की समेत दिएका छन् । उनले वडाभित्र १६ सय अबैध घर र संरचनाहरू रहेको भन्दै सबैलाई भत्काउने बताए ।

ती धम्कीहरूको बेवास्ता गरेर वडाध्यक्ष रिजालले महानगरपालिकाको डोजर र सुरक्षाकर्मीहरूमार्फत भत्काएका छन् । वडाध्यक्ष रिजाल सो वडामा राम्रो काम गरेकै कारण दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति पनि हुन् ।

Published : Friday, 2022 September 16, 3:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया