डलर काण्डमा परेका ‘ठूलो माछा’ र उनको समूह भैरहवा विमानस्थलमा छिर्न खोज्दै

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको स्पेस ठेक्का लगाउन ‘सेटिङ’ गरेको आरोप लागेको छ ।

विमानस्थलको स्पेस अर्थात पार्किङ, क्यान्टिन, डिउटी फ्रि पसल, सटही काउन्टरलगायतका लागि ठेक्का निकालेको छ । सो ठेक्काको समयावधी शुक्रबार सकिदैछ ।

बिहीबारसम्म एउटा मात्रै फारम बिक्री भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले भने, ‘एउटा ठेकेदार कम्पनीले फारम किनेर लगेको छ । आज (शुक्रबार)सम्म समय छ । कुन कम्पनीले लगेको छ मलाई अहिले थाहा छैन ।’ उनले सेटिङमा टेण्डर निकालेको कुरा सिधै अस्वीकार गरेका छन् । निरौलाले दुई पटक सूचना निकालेको भन्दै त्यही कुराले पनि सेटिङ छैन भन्ने कुरा पुष्टि हुने दाबी गरेका छन् ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले टेण्डरको सूचना दुई पटक निकालिएको बताए । उनले भने, ‘बिहीबारसम्म दुई वटा फारम गएको सुनेको छु । शुक्रबार अन्तिम समय छ । हेरौं कति वटा ठेकेदार कम्पनीले फारम किन्छन् ।’

सो टेण्डर दुई पटक निकालिएको छ । पहिलो पटक कसैले पनि फारम नकिनेपछि दोस्रो पटक टेण्डरको सूचना निकालिएको महाप्रबन्धक दाहालले बताए ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको निर्देशनमा डलर तस्करीको आरोपमा पक्राउ परेर छुटेका विवादित व्यापारी सुवास श्रेष्ठ र ईन्द्रेणी समूहलाई मात्रै सर्तहरू मिल्ने गरेर प्राबधान राखेको आरोप छ । यद्यपि, सो आरोपको प्राधिकरणका प्रवक्ता निरौला र महाप्रबन्धक दाहालले अस्वीकार गरेका छन् । महाप्रबन्धक दाहालले हाइ रेटमा टेण्डर निकालिएको बताएका छन् ।

उनले स्पेस टेण्डर सेटिङमा दिनका लागि महानिर्देशक अधिकारीले आफूलाई दवाव नदिएको पनि बताएका छन् । दुई पटकसम्म पनि टेण्डरको सूचना निकाल्दा एकदिन पहिलासम्म एक वटा मात्रै फारम बिक्री हुनुले कहिँ अरु ठेकेदार कम्पनीहरू छिर्न नसकुन् भनेर सोही अनुसारका सर्त र प्रावधान राखेको हो कि भनेर आशंक उब्जिएको छ । फारम भरेकाहरूको सूची प्राधिकरणले बाहिर ल्याएपछि त्यसको केही दिनमै वास्तविक रहस्य खुल्नेछ ।

हुन त गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको स्पेस ठेक्कामा लिनका लागि विवादित व्यापारी दीपक भट्टले पनि पहल गरेका थिए । प्राधिकरणका महानिर्देशक अधिकारीले भट्टलाई शुरुमा टेण्डर दिन सोहीअनुसारको सर्तहरू राखेको आरोप पनि छ ।

भट्ट नेपाल प्रहरीको हतियार प्रकरणमा मुछिएर विवादित बनेपछि अधिकारी झस्किएर कुरा बिग्रिएको चर्चा प्राधिकरणभित्र छ । स्रोतका अनुसार चलखेल गरेर प्राधिकरणका महानिर्देशक अधिकारीले सुवास र ईन्द्रेणी समूहलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको स्पेस दिन लागेको आरोप छ ।

सुवासले प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलविरुद्ध सर्वोच्च अदालतमा ४४ वटा मुद्दा हालेर झमेला र हैरान बनाएका छन् । सुवासकै कारण मुद्दा मामिलामा प्राधिकरणले वर्षमा लाखौं रुपियाँ र करोडौं कर गुमाइरहेको छ ।

सुवासले विगत १४ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र कौडीको भाउमा सर्वोच्च अदालतको अन्तरिम आदेशका भरमा क्याफे र पसल सञ्चालन गर्दै आएका छन् । उनै सुवास श्रेष्ठले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनभित्र पनि कौडीको भाउमा क्याफे र पसल सञ्चालन गर्दै आएको आरोप छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सुवासलाई कर्मचारीहरूले मानहानी मुद्दा लाग्ने डरले चलाउन सकेका छैनन् । तल्लो तहका कर्मचारीहरूले सुवास र प्राधिकरणबीचको मुद्दामा छिटो फैसला गरिदिए एउटा निर्णय गरेर राज्यलाई ठूलो कर उठ्ने गरी अगाडि बढ्न सहज हुने आफ्ना कानून व्यवसायीहरूसँग आग्रह गर्ने गरेका छन् ।

प्राधिकरणलाई आजित बनाएका विवादित व्यापारी सुवास र उनको समूह भैरहवाको विमानस्थलभित्र छिर्न खोजेपछि प्राधिकरणका तल्लो तहका कर्मचारीहरू डराएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद कार्यालयले समेत ध्यान दिनुपर्ने माग साना कर्मचारीहरूको छ । यस विषयमा प्रतिक्रिया लिन खोज्दा व्यापारी सुवास र उनको समूहसँग सम्पर्क हुन सकेन ।

प्राधिकरणले ५ वर्षका लागि ५५ करोडमा स्पेस भाडामा दिने गरेर टेण्डर आह्वान गरेको छ । सुवासका ५ जना साथी र पार्टनरहरू स्पेस हेर्न भनेर केही दिन अगाडि भैरहवा पनि पुगेको स्रोतको भनाइ छ । सुवास भने ती ५ जना साथीहरूसँग भैरहवा गएका थिएनन् । सुवास र उनको समूहले प्रतिस्पर्धाबाट टेण्डर लिनै नमिल्ने होइन । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको हर्कत पुनः भैरहवामा पनि दोहोरिन्छ कि भन्ने डर तल्लो तहका कर्मचारीलाई छ ।

हुन त प्राधिकरणका महानिर्देशक अधिकारीले केही दिन अगाडि ताप्लेजुङ, विराटनगर, भरतपुर, नेपालगञ्ज र डोल्पा विमानस्थलको टर्मिन भवन तथा रनवे सुधारका लागि भनेर झण्डै १० अर्बको ठेक्काको सूचना पनि निकालेका छन् । सूचना निकाल्दा ४५ दिनको समय राखेर निकाल्ने व्यवस्था छ । अधिकारीले त्योभन्दा थोरै समय राखेर सूचना जारी गरेको आरोप पनि छ ।

Published : Friday, 2022 September 16, 8:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया