अमेरिकाबाट काठमाडौं आएको पार्सलभित्रको सामान देखेर ब्यूरो चकित, युवतीहरू पनि पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध ब्यूरो, कोटेश्वर, काठमाडौंले लागुऔषध खैरो हेरोईनसहित १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यकामा लागुऔषध खैरो हेरोईन र नियन्त्रित लागुऔषध एम्पुलको अबैध कारोबार भइरहेको सूचनाका आधारमा ब्यूरोको टोलीले विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको ब्यूरोका कार्यालय प्रमुख (एसएसपी) विकासराज खनालले बताए ।

ब्यूरोले बरामद गरेको लागुऔषध खैरो हेरोईन, गाँजा र एम्पुलको अबैध बजार मूल्य अन्दाजी २९ लाख ९९ हजार ४ सय रहेको खनालले बताएका छन् ।

खनालले ब्यूरोको नेतृत्व लिएपछि दुई/तीन महिनामै काठमाडौं उपत्यकामा ठूलो सफलता प्राप्त भएको छ । ब्यूरोले लागुऔषधका कारोबारी र लाखौंको जीवन बचाउन लागुऔषध धमाधम पक्राउ गरिरहेको छ ।

ब्यूरोले भदौ १६ गते ललितपुरको भोलाखेलबाट च्यासल ठेगाना भएका ३२ वर्षीय संजय कपाली र रामेछापको मन्थलीका २७ वर्षीय कुमार तामाङलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूको साथबाट ब्रुप्रेनोर्फिन ३१ एम्पुल, डाईजेपाम ३१ र फेनारगन ३० एम्पुल बरामद भएको एसएसपी खनालले बताए ।

‘कुमार तामाङ समेतसँग नियन्त्रित लागुऔषध एम्पुल कारोबारमा संलग्न ललितपुरको दुपाटका २९ वर्षीय अनिस महर्जनलाई निजको कोठाबाट बुप्रेनोर्फिन ५६ एम्पुल, डाईजेपाम २५ एम्पुल र फेनारगन ७९ एम्पुल, नगद २२ हजार १ सय रुपियाँ र लागुऔषध खरिद गर्न विभिन्न व्यक्तिले राखेको धरौटी (डिक) मोवाईल थान १७, घडी थान ७ र गितार थान ४ बरामद भएको छ’, एसपी योगेन्द्रकुमार खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ब्यूराले अनिस महर्जनलाई लागुऔषध एम्पुल बिक्री गर्ने सप्तरी डाक्नेश्वरी–१ ठेगाना भएका २७ वर्षीय धरमदेव रामलाई ललितपुरका महालक्ष्मी–१ बाट पक्राउ गरेको छ ।

लागुऔषध खैरो हेरोईन ७.५ ग्रामसहित ब्यूराले भैंसेपाटीबाट स्थानीय ३३ वर्षीय प्रताप कार्कीलाई पक्राउ गरेको एसएसपी खनालले बताएका छन् ।

प्रतापलाई खैरो हेरोईन बिक्री गर्ने लागुऔषध मुद्दामा फरार रहेका फिदिम– १ का २४ वर्षीय भुवन बिक र २५ वर्षीय देङ्ग हाङ्ग नेम्वाङलाई अनामनगरबाट ३३ ग्राम हेरोईनसहित पक्राउ गरेको छ ।

प्रहरीले गोकर्णेश्वर– ९ माकलबारीबाट २५ वर्षीय उत्सव घिमिरे र भोजपुरको ट्याम्केमैयुङ– ९ घर भएका ४१ वर्षीय दोर्ची शेर्पालाई ७ ग्राम हेरोईनसहित पक्राउ गरेको छ ।

उनीहरूसँगै लागुऔषध कारोबारमा संलग्न भोजपुरको पौवाढुङा– १ ठेगाना भएकी ३२ वर्षीया फुर्लामी शेर्पालाई प्रहरीले सुकेधाराबाट खैरो हेरोईन २४० ग्राम र तराजुसहित पक्राउ गरेको छ ।

दोर्ची शेर्पा र फुर्लामी शेर्पाले खैरो हेरोईन बिक्री गर्ने झापाको मेचीनगर– १५ की अप्सरा खातुन (अप्सरा राजवंशी) र ४४ वर्षीय नौसद आलमलाई भदौ १९ गते मेचीनगरबाट डिजिटल तराजु र १० लाख ४० हजार रुपियाँसहित पक्राउ गरेको एसएसपी खनालले बताए ।

ब्यूरोले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–७ का २८ वर्षीय मनोज राईलाई पनि २ किलो गाँजासहित पक्राउ गरेको छ । भदौ २० गते गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा अमेरिकाबाट आएको गाँजा लुकाएको पार्सल लिन गएका बेला राईलाई पक्राउ गरेको एसएसपी खनालले बताए ।

‘गाँजा लुकाइएको पार्सल रिसिभ गर्नको लागि मनोज राईलाई मिलाइदिने व्यक्ति नक्सालका ३० वर्षीय अंकितकुमार श्रेष्ठ र मनोजलाई ३० हजार दिने सर्तमा हुलाकमा पठाउने खुसिबुका ३० वर्षीय राहुल क्षेत्री पनि प्रहरीको फन्दामा परेका छन् ।

Published : Wednesday, 2022 September 7, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया