यस्ता हुन्छन् डेंगुको लक्षण, घरेलु उपचार कसरी गर्ने ?

काठमाडौं । काठमाडौं उपत्यकासहित अधिकांश जिल्लाहरूमा डेंगु रोगको समस्या भएको छ ।

डेंगुबाट धेरै सर्वसाधारण बिरामी परेका छन् । केहीको ज्यान समेत गइसकेको छ ।

डेंगु ज्वरो आर्बाेभाइरसको कारणले हुन्छ । यो भाइरस पोथी एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टेबाट सर्ने गर्दछ ।

डेंगु संक्रमित व्यक्तिलाई टोक्दा एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे पनि डेंगु भाइरसबाट संक्रमित हुन्छ ।

लामखुट्टे वर्षाको मौसममा वृद्धि हुन्छ । पानीले भरिएको ठाउँ वा भाँडामा डेंगु हुन्छन् ।

डेंगु ज्वरो सीधै एक व्यक्तिबाट अर्काेमा सर्दैन । डेंगु ज्वरोको कारक भाइरसलाई मध्यवर्ती भेक्टरको रुपमा लामखुट्टले एक व्यक्तिबाट अर्को व्यक्तिमा लैजान्छ ।

डेंगु ज्वरोका लक्षणहरूमा ज्वरो अत्यधिक आउने, शरीर काम्ने, टाउको दुख्ने, आँखा दुख्ने र रातो हुने, अनुहार रातो देखिने, तल्लो ढाड दुख्ने, अत्यधिक कमजोरी महसुस हुने, र खुट्टा तथा जोर्नीहरूमा गहिरो दुखाइ अनुभूति हुने हुन्छ ।

पेट, छाती र ढाडमा स–साना राता दानाहरू देखिन्छन् । डेंगु ज्वरोका एकदमै देखिने तीन वटा लक्षणमा ज्वरो, टाउको दुख्ने र शरीरमा राता दानाहरू देखिने हुन् । यी लक्षण देखिए तुरुन्त अस्पतालमा गएर चिकित्सकको सल्लाहअनुसार रगत, पिसाब अनि र डेंगुको जाँच गराउनुपर्छ ।

जाँचपश्चात कुनै अरु समस्या छैन भने घरमै बसेर उपचार गराउन सकिन्छ ।

ज्वरो आउने र टाउको दुख्ने, खोकी लाग्ने, शरीरमा स–साना बैजनी रङका दाना, ठूला निला डाम, पेट दुख्ने, कफी रङको वान्ता हुनु डेंगुको अत्यन्तै गम्भीर प्रकृतिका लक्षणहरू हुन् ।

डेंगु ज्वरो भाइरसबाट लाग्ने भएकाले यसको उपचारको लागि कुनै खास औषधि वा एन्टिबायोटिक छैन । डेंगु ज्वरो कुनै विशिष्ट उपचारविनै आफैं निको हुन्छ ।

ज्वरो आएमा, धेरै टाउको, जोर्नी र मांसपेशी दुःखेमा चिकित्सकको सल्लाहअनुसार सिटामोल र कोडिन चक्की खान सकिन्छ ।

ज्वरोका कारणबाट हुने जलवियोजनबाट शरीरलाई बचाउन शरीरका लागि आवश्यक पर्याप्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्दछ र आराम गर्नुपर्दछ ।

डेंगुको रोकथाम गर्न रोग निम्त्याउने भाइरस बोक्ने लामखुट्टेको नियन्त्रण वा उन्मूलन आवश्यक हुन्छ ।

लामखुट्टेको टोकाइबाट बच्न लामो पाइन्ट र लामो बाहुला भएको लुगा लगाउनुपर्छ ।

व्यक्तिगत सुरक्षाको लागि डेंगुको महामारी भएको ठाउँमा जाँदा लामखुट्टे निरोधक स्प्रेहरू प्रयोग गर्नुपर्छ । झूलको प्रयोग गरेर सुत्ने बनी बसाल्नुपर्छ ।

लामखुट्टेको वृद्धि कम गर्न घर वरिपरि भएका खाल्डाहरू पुर्ने र पानी जम्न दिनु हुँदैन । पानी जम्ने पोखरी तथा खाल्डाहरूमा कीटनाशक विषादी प्रयोग गर्नुपर्छ । लामखुट्टे भगाउने गुण भएका लेमनग्रास वा तुलसी भाँडोमा पनि रोप्न सकिन्छ ।

बगैंचा छभने नीमको रुख रोप्न सकिन्छ । सुकेका नीमका पातहरू जलाएर, आफ्नो वरपरको लामखुट्टेलाई भगाउन सकिन्छ ।

विशेषगरी शहरी क्षेत्रमा प्रायः घर वा अन्य स्थानमा लुकेका लामखुट्टेहरूले कुनै पनि समयमा टोक्नसक्छ ।

पोथी एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे विशेष गरेर सूर्योदय र सूर्यास्तको वरिपरि धेरै सक्रिय हुन्छ ।

लामखुट्टेको टोकाइबाट बच्न सूर्योदय र सूर्यास्तअघि दुई घण्टा घरबाट बाहिर नजाँदा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।

मेवाको हरियो पातको रसले रगतमा प्लेटलेटको संख्या बढाउनुका साथै प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसले डेंगुको उपचारमा पनि मद्दत गर्छ । मेवाको पातको रस दुई चम्चा दिनमा तीन पटक ६ घण्टाको अन्तरालमा सेवन गर्नु उपयुक्त हुन्छ ।

अम्बाको रसमा धेरै पोषक तत्वहरू हुन्छन् । भिटामिन ‘सी’ प्रशस्त मात्रामा पाइने हुँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन यसले मद्दत गर्छ । एक कप अम्बाको ताजा रस दिनमा दुई पटक पिउने वा ताजा अम्बा पनि खान सकिन्छ ।

मेथीको दानामा पनि धेरै पोषक तत्व जस्तै भिटामिन ‘सी’, ‘के’ र फाइबर प्रशस्त पाइन्छ । एक कप तातोपानीमा मेथीको दाना भिजाइ पानी चिसो बनाएर दिनमा दुई पटक पिउँदा डेंगु ज्वरोलाई नियन्त्रण गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ ।

आहारमा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरू जस्तैः सुन्तला, कागती, अमला, अनार, फर्सी, तीते करेला, लसुन, बदाम, बेसार, दालचिनी, तेजपत्ता, अदुवाको धूलो आदिको सेवन गर्न सकिन्छ ।

पानी उमालेर त्यसमा नीमका पातहरू केही बेर डुबाएर पिउनाले रगतमा प्लेटलेट, सेतो रक्तकोषको संख्या बढ्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ्छ र शरीरलाई बलियो बनाउँछ ।

किवीको फलमा धेरै खनिज र पोषक तत्वहरू हुने हुँदा डेंगु ज्वरोका कारण अनुभव गरिएका थकान र कमजोरी हटाउन नियमित रूपमा किवीको जुस पिउन सकिन्छ ।

तुलसी र मरिच दुई वटामै एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरका कोषहरु क्षति हुनबाट बचाउँछ । तुलसी र मरिचको थोरै मात्रामा नियमित रूपमा सेवन गर्नाले डेंगु भाइरसलाई हटाउन मद्दत गर्छ ।

चुकन्दरमा फलामको मात्रा अत्यधिक हुने हुँदा रक्त कोशिकाको उत्पादन बढाउनु र रगतलाई शुद्ध गर्न ठूलो भूमिका खेल्ने हुँदा डेंगु संक्रमणका लक्षणहरू थकान र दुखाइविरुद्ध लड्न मद्दत गर्छ । चुकन्दर र कागतीको रस सेवन गर्नाले शरीरमा आइरनको अवशोषण पनि बढाउँछ ।

Published : Saturday, 2022 September 3, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया