चार जनाको हत्या गर्ने मानिसहरू पक्रउ

काठमाडौं । बारामा आफ्नै श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महागढीमाई नगरपालिका–३ गंजभवानीपुर बस्ने २७ वर्षीय सैमोदिन अंसारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सहनाजको आफ्नै घरमा बिहीबार शंकास्पद मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धान गर्ने क्रममा सैमोदिनले श्रीमतीको हत्या गरेको खुल्न आएपश्चात पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही घटनामा संलग्न उनकै भाउजु अप्सना खातुन समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

उता, उदयपुरमा एकै परिवारका तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् ।

बेलका नगरपालिका–७ गोवाटार बस्ने एकै परिवारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकै श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीय सुजन बस्नेतको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय नरबहादुर बस्नेतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही ठाउँस्थित दिलुटार वादिम खोलामा नरबहादुरले खुकुरी प्रहार गर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर, ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Saturday, 2022 September 3, 5:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया