नुवाकोटका बाढीपहिरो प्रभावितको पीडा बुझ्न आए डा.महत, भत्किएको संरचना बनाउन पहल गर्ने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेर क्षतिको जानकारी लिएका छन् ।

साउन २४ गते राति परेको वर्षाले नुवाकोटको क्षेत्र नम्बर १ को तादी खोलामा आएको बाढीले दुप्चेश्वर– ३ राउतबेशी, तादी–४ सातबिसे र पञ्चकन्या–४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या–२ आप्र र तादी– ५ बाहुनवेशी जोड्ने पक्की पुल, पञ्चकन्या–१ को सिमारा फाँट र लिखु– ३ सूर्यमती र वडा नं. १ ढिकुरे जोड्ने पक्की पुलहरू क्षतिग्रस्त भएका छन् ।

डा.महतले पञ्चकन्या र तादी जोड्ने पुलको क्षति अवलोकन गरेपछि भने, ‘साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट क्षेत्र नं. १ मा अकल्पनीय विनास निम्त्याएको छ ।’

‘पञ्चकन्या र तादी गाउँपालिका जोड्ने आप्र पुल क्षतिग्रस्त भएको छ’, उनले भने, ‘सडक कार्यालय र स्थानीय तहको समन्वयमा भत्किएको पुलको तुरुन्त पुनर्निर्माण गरी आवागमन सुचारु गर्नुपर्दछ ।’

‘बाढीपहिरो प्रभावित क्षेत्रका लागि थप बजेट उपलब्ध गराउन म सरकारसंग जोडदार माग गर्दछु’, प्रवक्ता डा.महतले भनेका छन् ।

डा.महतले भने, ‘बाढीले सातबिसे र थप्रे जोड्ने तादी खोलामाथिको पुल पनि क्षतिग्रस्त बनाएको छ । आवागमन सहज बनाउन जतिसक्दो छिटो यसको पुनर्निर्माण गर्नुपर्छ । यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’

‘बाढीपहिरोले दुप्चेश्वर–३ राउतबेशीमा विनासलीला मच्चाएको छ’, उनले भने, ‘यो प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित नागरिकहरूलाई राहत तथा विपदबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाहरूको पुनर्निर्माणको लागि शीघ्र कदम चाल्न म नेपाल सरकारसंग माग गर्दछु ।’

पूर्वमन्त्री समेत रहेका प्रवक्ता डा.महतले बाढीबाट क्षतिग्रस्त तादी खोलामा निर्मित बुद्धभूमि हाइड्रोपावरको पनि निरीक्षण गरेका छन् ।

‘बाँधस्थल, क्यानल, पावरहाउसमा समेत बाढीले क्षति पुर्‍याएको छ’, उनले भने, ‘अहिले उत्पादन बन्द भएको छ ।’

उनले भने, ‘बाढीपहिरोबाट प्रभावित बिद्युत् आयोजना सुचारु गर्न आवश्यक नीतिगत र अन्य सहयोगको व्यवस्था गर्न सरकारसंग अनुरोध गर्नेछु ।’

डा.महतले स्थानीय जनप्रतिनिधिहरूसँग राहत, पुनःस्थापना र पुनर्निर्माणको बारेमा छलफल गरेका छन् ।

उनले स्थानीय जनप्रतिनिधिहरूलाई पहिले पहिरो र बाढीले पुर्‍याएको क्षतिको यथार्थ विवरण संकलन गर्न, प्रभावितहरूको सूची तयार पार्न र क्षतिग्रस्त भएका संरचनाहरूमध्ये सानातिना र थोरै रकमले हुने मर्मतसंभार पालिकाको बजेटबाट सम्पन्न गर्न सुझाव दिएका छन् ।

डा.महतले प्राविधिक सहयोग र ठूलो रकम चाहिने संरचनाको हकमा प्रदेश सरकार र केन्द्र सरकारसँग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने वचन दिएका छन् ।

Published : Friday, 2022 August 12, 4:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया