महोत्तरीमा कर्तुत गर्ने ज्वाइँ यसरी पक्राउ परे, सासु र श्रीमती कीर्तिपुरमा, लुक्न सकेन अपराध

काठमाडौं । महोत्तरीमा दुई महिलालाई जलाएर घाइते बनाउने ४० वर्षीय शंकर सदालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

साउन २१ गते मध्यराति भंगहा नगरपालिका–९ कन्चनवनस्थित ससुरालीमा बस्दै आएका शंकर सदाले आफ्नी सासु ६५ वर्षीया रेशमादेवी सदा र पत्नी ३५ वर्षीया प्रमिलादेवी सदालाई मट्टितेल छर्किएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख (एसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

महोत्तरीको औरही नगरपालिका–८ भोईल टिमकिया घर भएका शंकर ससुरालीमा बस्दै आएका थिए ।

आगोले रेशमा र प्रमिलाको हात, पिठ्यु, छाती, पाखुरा, खुट्टा समेतको भागमा जलेको एसपी पंगेनीले बताए । दुबै जना गम्भीर घाइतेलाई आफन्तहरूले उद्दार गरी उपचारका लागि अस्पताल पठाएका थिए । प्रहरीले घटनाको जानकारी पाउनासाथ अनुसन्धान गरेको थियो ।

अनुपलाल सदाले शंकर सदाविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योग शीर्षकमा जाहेरी दरखास्त दिएका छन् । नाताले अनुपलाल शंकरका जेठान पर्छन् ।

घाइते रेशमादेवी र प्रमिलादेवीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारपछि थप उपचारको लागि हाल काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भैरहेको छ ।

शंकर सदाले आफ्नी श्रीमती प्रमिलादेवी सदालाई परपुरुषसंग अबैध सम्बन्ध रहेको भन्ने शंका गरी सोही आरोपमा झै–झगडा गर्ने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको एसपी पंगेनीले बताएका छन् ।

शंकर सदाले श्रीमती प्रमिलादेवी सदासंग पटक–पटक झै–झगडा गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ । साउन २१ गते शंकर सदा र उनकी श्रीमती प्रमिलादेवी सदाबीच सोही विषयमा झै–झगडा भएको थियो ।

सासु रेशमादेवी र श्रीमती प्रमिलादेवी सदा एउटै कोठामा सुतिरहेको अवस्थामा कोठाभित्र गई शंकर सदाले शरीरमा मट्टितेल छर्की आगो लगाई फरार भएका थिए ।

शंकर सदालाई पक्राउ गर्न महोत्तरी प्रहरीले भारतीय प्रहरीसँग समेत समन्वय गरी नेपाल–भारतको सीमावर्ती क्षेत्रमा खोज तलास गर्ने क्रममा साउन २५ गते पौने ५ बजे महोत्तरी प्रहरीले नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका–६ स्थित सम्सी–कन्हवा बोर्डरको नेपालतर्फको भागमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको एसपी पंगेनीले बताएका छन् ।

घटनास्थलबाट प्रहरीले रातो, सेतो, पहेलो गुलाबी रंगको जलेको बुट्टेदार तन्नाको टुक्रा थान–१, रातो, पहेलो, सेतो रंगको साडीको जलेको टुक्रा थान–१, फिक्का पहेलोमा हरियो बुट्टा भएको ब्लाउजको जलेको टुक्रा थान–१ बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी (डीएसपी) प्रकाश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पहेलोमा निलो रंगको बुट्टा भएको साडीको जलेको टुक्रा थान–१, रातो रंगको जलेको पेटिकोट थान–१, ब्रिक्स लेडिएको प्लाष्टिक डिब्बा रहेको र सो डिब्बाको बिर्कोको आधा भाग जलेको थान–१, पहेलो रंगको ग्यालिन (जर्किन) थान–१, पहेलो, कालो बुट्टेदार जलेको च्यादरबाट काटिएको टुक्रा थान–१ पनि प्रहरीले बरामद गरेको छ ।

Published : Thursday, 2022 August 11, 5:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया