घर–घर गएर रुख चिन्हमा भोट माग्न डा.महतको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले सरकारले चुनावको मिति घोषणा गरिसकेकाले अब कांग्रेसजनले घर–घर पुगेर जनतालाई मताधिकार प्रयोग गर्न उत्साहित गर्नुपर्ने बताएका छन् ।

शनिबार ललितलपुरमा बागमती प्रदेश कार्यसमितिले गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘पार्टीले निणर्य गरिसकेको छ । जनताको घरघरमा पुग्न पार्टीले देशव्यापी अभियान चलाउँदैछ ।’

प्रवक्ता डा.महतले भने, ‘हामी सकेसम्म बहुमत, नभए पनि फराकिलो अन्तरले ठूलो पार्टी बन्ने गरी चुनावमा होमिएका छौँ ।’

प्रवक्ता डा.महतले आगामी पाँच वर्षसम्म मुलुकलाई कुन दिशामा मार्गदर्शन गर्नेभन्ने कुरा जनताले आगामी मंसिर ४ मा गर्नुपर्ने बताएका छन् ।

उनले अहिलेकै अवस्थामा कसैले पनि एकल बहुमत ल्याउने अवस्था नरहेकाले सत्तारुढ दलहरूबीच गठबन्धन भएको बताएका छन् ।

‘अहिलेकै अवस्थामा हाम्रो पार्टी एक्लैले बहुमत ल्याउने अवस्था छैन’, उनले भने, ‘हामीले गठबन्धन नगरे अरु दलहरूबीच गठबन्धन हुन्छ, त्यो विगतमै हामीले अनुभव गरिसकेका छौं ।’

‘विगतबाट हामीले सिक्नुपर्छ भन्ने लाग्छ’, उनले भने, ‘त्यसैले विगतको तितो अनुभव नदोहो¥याउन अब ठीक निणर्य लिनु आवश्यक हुन्छ । त्यो निणर्य लिने बेला आएको छ ।’

डा.महतले कम्युनिष्ट विचारधारा संसारभरि नै असफल भइसकेको बताएका छन् ।

डा.महतले कम्युनिष्ट विचारधाराबाट कुनै पनि देशका नागरिकको समृद्धि स्थायी नभएको बताए । उनले अस्थिरता नै कम्युनिष्टहरूको पर्यायजस्तो बनेर रहेको बताएका छन् ।

समाजवादी लोकतान्त्रिक विचारधाराबाट मात्रै आमनागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिने उनले बताएका छन् ।

डा.महतले भने, ‘कम्युनिष्ट विचारधाराबाट, कम्युनिष्ट पद्धतिबाट हामीले देशको सर्वाङ्गीण विकास गर्न सक्दैनौँ, त्यो सम्भव छैन । हाम्रै देशमा ०७४ को निर्वाचनमा कम्युनिष्टले बहुमत पाएकै हुन्, आज देश यो हालतमा हुनुमा को दोषी छ ? सबैलाई बिदितै छ ।’

‘त्यसैले आगामी निर्वाचनबाट हामीले मुलुकलाई कतातिर लैजाने भन्ने निणर्य गर्नुपर्ने छ’, डा.महतले भने, ‘आमनागरिकको जीवनस्तरमा सुधार ल्याउन, आर्थिक र सामाजिकरुपमा परिवर्तन ल्याउन नेपाली कांग्रेसको नेतृत्व अपरिहार्य छ ।’

Published : Saturday, 2022 August 6, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया