महोत्तरीमा वडा सदस्य अरुणको अपराध २४ घण्टा टिक्न सकेन, प्रहरीले फत्ते गर्‍यो काम

काठमाडौं । महोत्तरीमा प्रहरीले ५ लाख पचाउन आफैलाई छुरा प्रहार गरेर घाइते बनाउने रामगोपालपुर नगरपालिका–७ का ३६ वर्षीय अरुण चौधरीलाई पक्राउ गरेको छ ।

शुक्रबार पौने ५ बजे गौशला नगरपालिका–२ रेडक्रस नजिक माईस्थान सम्सी सडकखण्डमा तीन जनाको समूहले आफूलाई छुरा प्रहार गरेर ५ लाख लुटेर लगेको झुठो सूचना प्रहरीलाई दिएका थिए । सो घटनाको जानकारी पाउनसाथ प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानका क्रममा अरुण चौधरीले आफ्नै भाई अनिल चौधरीलाई ठग्ने नियतले आफूले आफैलाई तिघ्रामा छुराले घाउ बनाएको रहस्य खुलेको महोत्तरीका प्रहरी प्रमुख (एसपी) कृष्ण पंगेनीले बताएका छन् ।

औरहीबाट निगौलचौक हुँदै सम्सीतर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प.३३४७ नम्बरको मोटरसाईकलमा रहेका अरुणलाई नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जनाको समूहले आक्रमण गरेर पैसा लुटेर लगेको बताएका थिए ।

भाई अनिल चौधरीले आफ्नो खातामा जम्मा गर्न भनि दाई अरुणलाई ५ लाख दिएर पठाएका थिए ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय गौशालाबाट सुक्ष्म अनुसन्धान गरी सीसीटिभी फुटेज, घटना भएको सडक हुँदै आवतजावत गर्ने स्थानीयवासीहरू र पीडित भनिएका अरुणसँग समेत प्रहरीले सोधपुछ गरेको थियो ।

उक्त घटना सम्बन्धमा भाई अनिल चौधरीले आफ्नो खातमा जम्मा गर्न भनि दाई अरुण चौधरीलाई दिएको ५ लाख रकम भाई अनिल चौधरीको खातामा जम्मा नगरी हिनामिना गर्ने उदेश्यले अपराध गरेको प्रारम्भीक अनुसन्धानबाट देखिएको एसपी पंगेनीले बताए ।

अरुणले सरपल्लोकी चाँदनीदेवीलाई १ लाख ५६ हजार सापटी फिर्ता दिएको, ४९ हजार रुपियाँ मनि ट्रान्सफरमा काम चलाउँदै गर्नु भनी आफ्नी श्रीमतीलाई छाडेको र बाँकी २ लाख ९५ हजार रकम मनि ट्रान्सफरको फण्डमा जम्मा गरेको भन्ने व्यहोरा खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।

लुटिएको भनिएको कालो रंगको झोला समेत घटना वारदात नजिक अन्दाजी २०० मिटर उत्तर तर्फरहेको कलर्भटमुनि लुकाइएको अवस्थामा फेला परको छ ।

पाँच लाख रुपिया लुटपाट भएको भन्ने व्यहोरा झुट्टा रहेको तथा घटनालाई भ्रमात्मक बनाउन अरुण आफैले आफ्नो बाँया तिघ्रामा छुराले प्रहार गरी चोट बनाएको अनुसन्धानबाट खुलेको छ ।

अरुणले लगाएको जिन्सको पाईन्ट समेत च्यातेको भनि अरुण आफैले स्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सो घटना भाईलाई ठग्ने उदेश्यले झुट्टा तथा काल्पनिक सृजना गरेको भनि खुल्न आएकोले घटनामा संलग्न अरुण चौधरीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गौशालामा राखि थप अनुसन्धान भइरहेको छ’, महोत्तरी प्रहरीका सूचना अधिकारी एवम् डीएसपी प्रकाश विष्टद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

दाई अरुणले भाई अनिललाई ठग्ने नियतले गरेको अपराध २४ घण्टापनि टिक्न सकेन । महोत्तरी प्रहरीले अनुसन्धान गरेर दोषीलाई पक्राउ गरेर अनुसन्धान र कारबाही थालेको छ ।

५ लाख काण्डमा पक्राउ परेका अरुण चौधरी रामगोपालपुर नगरपालिकाको वडा नं. ७ का वडा सदस्य पनि हुन् । जनप्रतिनिधिले नै यस्तो हर्कत गरेपछि मतदाताहरू चकित परेका छन् ।

Published : Saturday, 2022 July 30, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया