जेलबाट छुट्नेवित्तिकै सहोडवामा काकाको हत्या, सवा घण्टाभित्रै पक्राउ

काठमाडौं । महोत्तरी प्रहरीले व्यक्ति हत्यामा संलग्न रहेको अभियोगमा घटना भएको सवा घण्टामै अभियुक्तलाई पक्राउ गरेको छ ।

हत्या अभियोगमा महोत्तरी प्रहरीले पिपरा गाउँपालिका–५ सहोडवाका ४५ वर्षीय रामनाथ दासलाई साउन ५ गते पक्राउ गरेको महोत्तरी प्रहरीका प्रमुख (एसपी) कृष्ण पंगेनीले जानकारी दिएका छन् ।

रामनाथ सात वर्षको जेल सजाय भोगेर सजाय माफ भएर बाहिर निस्किनेवित्तिकै व्यक्ति हत्यामा संलग्न भएका छन् ।

रामनाथले साउन ५ गते पौने ५ बजेको समयमा सहोडवा गाउँबाट एकहरिया जाने पिच सडकभन्दा पूर्वपट्टी रहेको बाबुसाहेब झाको आँपको बगैचामा ६० वर्षीय रामबहादुर दासको हत्या गरेको अभियोग लागेको छ । रामनाथले रामबहादुरको अनुहार, टाउको मुनिको भागमा धारिलो हतियारले प्रहार गरी मारेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

घटनास्थल नजिकै खेतमा खनेको कुलोमा रगतको छिटा लागेको कोदालो बरामद भएको एसपी पंगेनीले जानकारी दिएका छन् ।

सो कोदालो दिउँसोको समयमा रामनाथ दासले आफ्नै घरबाट बोकी खेततर्फ आएका थिए ।

रामनाथ दासकी श्रीमतीले कोदालो सनाखत गरेकी थिइन् । रामनाथ दासले कोदालोले आफ्नो काका रामबहादुर दास आँपको बगैचामा सुतीरहेको अबस्थामा रामबहादुर दासको अनुहार र कन्चटमा कोदालोको धारिलो भागले यत्रतत्र प्रहार गरेको एसपी पंगेनीले बताए ।

रामनाथले रामबहादुरलाई अनुहारदेखि कन्चटसम्मको भाग काटी/मारी उक्त कोदालो घटनास्थलदेखि १०४ फिट उत्तरपट्टी कुलोमा फालेर नुहाई शरीर, कपडामा लगेको रंगत छिटाहरू धोएका थिए ।

पखाल्दा भिजेको लुगा (जघिया र गम्छा) रामनाथको घरमा बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।

यिनै प्रतिवादी रामनाथ दास समेतले २०५३ साल चैत ११ गते सहोडवा बस्ने रामबिलास दास तत्मालाई कुटपिट गरी हत्या गरेको कर्तब्य ज्यान मुद्दामा करिब ७ वर्ष कैद सजाय भुक्तान गरेका थिए ।

रामनाथ २०७९ जेठ १५ गते गणतन्त्र दिवसको दिन केन्द्रीय कारागार त्रिपुरेश्वर काठमाडौंबाट छुटेका थिए ।

Published : Saturday, 2022 July 23, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया