यी हुन् कांग्रेस बलियो बनाउने निर्णयहरू, गगनले पाए ठूलो जिम्मेवारी, देउवालाई दिइयो धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा कांग्रेस पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि आचारसंहिता जारी गरी केन्द्रले लागू गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठकपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.प्रकाशशरण महतले जनप्रतिनिधिहरूलाई जिम्मेवार बनाउन आचारसंहिता लागू गर्न लागिएको बताए ।

कांग्रेसले भदौ २ देखि २४ गतेसम्म राष्ट्रव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको प्रवक्ता डा.महतले बताए ।
अभियानको विस्तृत खाका केन्द्रीय कार्यालयले तयार गर्नेछ ।

उप–सभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काद्वारा केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन’ र पार्टी प्रवक्ता एवं स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतद्वारा प्रस्तुत ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको प्रतिवेदन’ उपर केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावलाई समावेश गर्ने गरी उक्त दुबै प्रतिवेदनहरूलाई अनुमोदन गर्ने पनि गरेको छ ।

कांग्रेसले सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता डा.महतले जानकारी दिए ।

‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४(९)(क) बमोजिम पार्टी सभापति शेरबहादुर देउवाद्वारा तोकिनु भएका पार्टीका महामन्त्री गगनकुमार थापा संयोजक रहनु भएको सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गर्ने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४(७) बमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरिएको छ ।’

‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८(१) बमोजिम पार्टी सभापति शेरबहादुर देउवाद्वारा प्रस्ताव गरिनु भएका पार्टी केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरे संयोजक रहनु भएकोे केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

सभापतिले आवश्यक परामर्श गरी उपरोक्त समितिहरूलाई पूर्णता प्रदान गर्ने निर्णय भएको डा.महतले बताए ।

कांग्रेसले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ, नेपाल लोकतान्त्रिक खेलकूद संघलाई नेपाली कांग्रेसको भ्रातृ संघको मान्यता प्रदान गर्ने निर्णय गरेको छ ।

यसअघि नै पार्टीको भ्रातृ संघको रुपमा मान्यता प्राप्त गरिसकेका नेपाल राष्ट्रिय मगर संघ र नेपाल तामाङ संघ तथा शुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त गरिसकेका नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ र लोकतान्त्रिक नेवाः खल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघअन्तर्गत आवद्ध संघको रुपमा रहने प्रवक्ता डा.महतले बताएका छन् ।

आदिवासी जनजातीभित्र रहेका अन्य जातजातीहरू (थारू बाहेक)को आवद्ध संघ वा महासंघले गठन गर्न सक्नेछ ।

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायात व्यावसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आर्युवेद चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यावसायी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व कर्मचारी संघ, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता प्रदान गर्ने निर्णय गरेको प्रवक्ता डा.महतले बताए ।

नेपाल आदिवासी जनजाती संघका विद्यमान संरचनाहरू स्वतः निष्क्रिय हुनेछन् । पार्टीबाट मान्यता प्राप्त उल्लेखित भ्रातृ संघ र शुभेच्छुक संस्थाको विधानलाई आवश्यक परिमार्जन गरी केन्द्रले अन्तिम रूप प्रदान गर्ने निर्णय कांग्रेसले गरेको छ ।

‘अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भ्रातृ संघलाई यही २०७९ साउन मसान्तभित्र गठन र पूर्णता प्रदान गर्ने निर्णय भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली कांग्रेसको आगामी नीति महाधिवेशनका सम्बन्धमा आवश्यक तयारी गरी केन्द्रीय कार्यालयले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछ’, विज्ञप्तिमा भनिएको छ ।

नेपाली जनसम्पर्क समिति साइप्रसबाट पार्टी विधान बमोजिम तोकिएको रकम र आवश्यक कागजात सहित प्राप्त हुन आएका क्रियाशील सदस्यताको नामावली जम्मा ५०१ (नवीकरण १३० र नयाँ ३७१) लाई स्वीकृत गर्ने निर्णय कांग्रेसले गरेको छ ।

सरकारले स्थानीय निर्वाचन व्यवस्थित र निष्पक्ष रुपले एकै चरणमा सम्पन्न गराएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषदलाई कांग्रेसले धन्यवाद दिएको छ । कांग्रेसलाई ठूलो दल बनाएको भन्दै मतदाताहरूलाई पनि धन्यावाद दिइएको प्रवक्ता डा.महतले बताएका छन् ।

Published : Monday, 2022 July 18, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया