अफ्रिका, दुबईका सुरक्षाकर्मीले फेला पार्न नसकेको ८ करोडको ‘माल’ र मान्छे काठमाडौंमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले चार किलो लागुऔषध हेरोईनसहित ३ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोबाट गरिएको निरन्तर निग्रानीका क्रममा असार ३२ गते शनिबार ४ किलो लागुऔषध हेरोईन जस्तो देखिने धुलो पदार्थसहित २ जना विदेशी र १ नेपालीसहित ३ जनालाई पक्राउ गरिएको ब्यूरोका कार्यालय प्रमुख (एसएसपी) विकासराज खनालले जानकारी दिएका छन् ।

पक्राउ परेका तीन जनाउपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागुऔषध हेरोईन मुद्दामा म्याद थप गरी थप अनुसन्धान गर्ने कार्य भइरहेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली बजारमा ४ किलो हेरोईनको मूल्य अन्दाजी ८ करोड पर्छ ।

अफ्रिका, दुबईसहितका देशको विमानस्थलका सुरक्षाकर्मीहरूको जाँच र सुरक्षा छलेर ल्याइएको चार किलो हेरोईनलाई काठमाडौंमा प्रहरीले पक्राउ गरेर ठूलो उपलब्धी हातपारेको छ ।

ब्यूरोको जिम्मेवारी सम्हाल्नेवित्तिकै एसएसपी खनालको कमाण्डमा ४ किलो लागुऔषध हेरोईन काठमाडौंमा बरादम भएको छ ।

यसरी काठमाडौं छिरेको थियो हेरोईन


साउथ अफ्रिकाको जोहनेसबर्गबाट दुबई हुँदै काठमाडौंमा असार ३१ गते बिहान साढे ८ बजे अवतरण भएका साउथ अफ्रिकन नागरिक पासपोर्ट नम्वर ए०९८७९५७२ बाहक ६१ वर्षीय जस्क्युस एन्टोन एन्जलब्रेष्टको गतिविधि शंकास्पद देखिएपछि ब्यूरोको टोलीले निग्रानी गर्दै जाने क्रममा दिउँसो १ बजे ठमेलस्थित एक होटेलबाट ती व्यक्तिले सुटकेसभित्र पिँधको भागमा रहेको फल्सबटमबाट लागुऔषध हेरोईन जस्तो देखिने धुलो पदार्थ ४ किलोसहित पक्राउ गरिएको एसएसपी खनालले जानकारी दिए ।

लागुऔषध भारत लैजाने कार्यमा सहयोगी भूमिकामा देखिएका नुवाकोटको गर्साङ गाउँपालिका– ७ ठेगाना भई हाल बनस्थली बस्दै आएका ट्याक्सी चालक ५० वर्षीय सुकेश तामाङलाई बा २ ज ५६५५ नम्बरको ट्याक्सीसहित ठमेलबाटै पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भारतको दिल्लीबाट लागुऔषध लिन काठमाडौं आएको अवस्थामा शनिबार तिलगंगाबाट भारतको मिजोरम राज्य ठेगाना भई जनकपुरी दिल्ली बस्दै आएकी ३२ वर्षीया जोथनतुलङ्गीलाई पक्राउ गरिएको ब्यूरोका कार्यालय प्रमुख खनालले बताएका छन् ।

Published : Sunday, 2022 July 17, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया