आरजुको कुटनीतिले ओलीका मान्छेहरूलाई तनाब, प्रचण्डलाई भारतले दिएको सम्मानबाट एमाले मुर्छित्

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको महत्व र स्वागत, सत्कारप्रति प्रमुख प्रतिपक्षी दल एमालेलाई तनाब भएको छ ।

भाजपाका अध्यक्ष जगतप्रसाद नाड्डाको निमन्त्रणमा भारत भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका दाहाललाई भव्य स्वागत भएको छ । दाहालले यसअघि यति ठूलो सत्कार र सम्मान भारतमा पाएका थिएनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले दाहाललाई निकै महत्व दिएपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई तनाब भएको चर्चा छ । दाहाललाई नयाँदिल्लीमा विदेशमन्त्री एस.जयशंकर, भाजपाका विदेश सचिव विजय

चौथाइवालेलगायतले गरेको भेट र स्वागतबाट एमाले मुर्छा पर्ने अवस्थामा पुगेको माओवादी नेताहरूको भनाइ छ ।

नयाँदिल्लीमा उपचार गराउन पुगेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र अध्यक्ष दाहालबीच भएको भेटलाई पनि एमालेलाई पचेन । एमालेका नेता कार्यकर्ताले अनावश्यक टिकाटिप्पणी गरेर लेखेका छन् । विदेशमा दाहाल र राणाबीच भेटघाट गरेर कुनै अपराध गरेका छैनन् । विदेशमा सामान्य शिष्टता अपनाएका हुन् । त्यसलाई एमालेले पहाड बनाउन खोज्यो ।

एमालेका नेताहरूले सामाजिक सञ्जालमा छन्नभाँती लेखेर अध्यक्ष दाहालको चरित्रमाथि भद्दा मजाक र टिकाटिप्पणी गरेका छन् ।

भारतले नेपालसँगको सम्बन्धलाई थप सुमधुर बनाउन चाहेको संकेत दाहालको भ्रमणमा दिएको छ । भारतले नेपाललाई कति महत्व राख्छ भन्ने कुरा देखाएको छ । भारतको यो मित्रतालाई एमालेले रुचाएको छैन ।

ओली प्रधानमन्त्री भएका बेला बालुवाटारमा मध्यरातमा भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्त गोयललाई बोलाएर सुटुक्क भेटेका थिए । ओलीले भारतसँग सम्बन्ध विगारेका थिए । भारतसँगको सम्बन्ध सुधार गर्ने अनेक प्रयास पनि गरेका थिए । तर, ओलीलाई भारतले विश्वास गरेन । ओली चीनतिर ढल्किए ।

ओली आफूले भेट्दा सबै कुरा राम्रो हुने ? तर, दाहालले भेट्दा नराम्रो हुने ? एमालेको यो दोहोरो चरित्र हो ।

एमालेका अध्यक्ष ओली एक्लिएका छन् । एमाले सत्ताभन्दा बाहिर जानुपर्दाको पीडा पोखीरहेका छ । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनले मुलुकलाई सहज रुपमा अगाडि बढाएको छ । ओली प्रधानमन्त्री भएका बेलामा जस्तो राज्यको ढुकुटी रित्तिएको छैन । बरु कांग्रेसको सरकारले ढुकुटी भरेको छ । भ्रष्टाचार भएको छैन । छिटफुट भ्रष्टाचारका कुरा आए पनि कारबाही भएका छन् ।

कांग्रेस नेतृत्वको सरकार र प्रधानमन्त्री शेरबहादुर देउवाको कुटनीतिक कुशलता एवम् माओवादीका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसँगको असल सम्बन्धले एमालेलाई पीर परेको छ ।

एमालेले आफ्ना हर्कतहरूबाट जलनको गन्ध दिइरहेको छ । एमालेले कांग्रेस नेतृत्वको गठबन्धन र सरकारप्रति औंला उठाउँदा आफूले विगतमा के–के हर्कत गरेको थियो फर्केर हेर्दा हुन्छ ।

कांग्रेस नेतृत्वको गठबन्धन र सरकारले कौडीको भाउमा यती समूहलाई सरकारी जग्गा दिएको छैन । ओम्नी काण्ड गरेको छैन । राज्यको ढुकुटी आफू खुशी खर्च गरेको छैन । १ लाखको राहत बाँड्न २८ लाख खर्च कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनले गरेको छैन ।

Published : Sunday, 2022 July 17, 4:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया