चिनियाँ पैसामा काठमाडौंमा कार्यक्रम, कम्युनिस्ट मिल्ने प्रस्ताव, ओली–भण्डारी–यादव–श्रेष्ठ सहभागी

काठमाडौं । चिनियाँ लगानीको कार्यक्रममा एमालेका अध्यक्ष खड्गप्रसाद ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकताको पक्षमा अभिव्यक्ति दिएका छन् ।

शनिबार काठमाडौंमा चिनियाँ लगानीको संस्था ‘नेपाल–चीन हिमालयन मैत्री समाज’को कार्यक्रममा एमालेका अध्यक्ष ओलीले वामपन्थी एकतामा आउन कम्युनिस्टहरूलाई आग्रह गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेका बेला नारायणकाजी श्रेष्ठ र खड्गप्रसाद ओलीले चीनको चाहनाअनुसार वाम एकताका पक्षमा अभिव्यक्ति दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपाल भ्रमण सकेर स्वदेश फर्किएको तेस्रो दिन ओलीले वाम एकता र कवामपन्थीहरूको सरकार बनाउन आग्रह गरेका हुन् । उनले माओवादी केन्द्रसहितका दलहरूलाई कांग्रेसको नेतृत्वमा नजान र आफूसँग मिलेर अगाडि बढ्न प्रस्ताव गरेका छन् ।

ओलीले सच्चा वामपन्थीहरु कांग्रेस नेतृत्वको गठबन्धन छोडेर वाम एकतामा आउनुपर्ने र मिलेर सरकार बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले चौँरीको पुच्छरजस्तो कांग्रेसको पछि लाग्ने पनि वामपन्थी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकता र तालमेलका लागि आग्रह गरेपछि ओलीको यस्तो अभिव्यक्ति आएको छ ।

ओलीले भने, ‘यदि सच्चा वामपन्थी हुनुहुन्छ भने कांग्रेसका पछाडि नलाग्नुस्, गठबन्धनका पछाडि नलाग्नुस् । एसपीपी नगर्नुस् । वामपन्थी एकतामा आउन आह्वान गर्छु ।’

कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालत जानेहरू वामपन्थी हुन ? भन्दै उनले प्रश्न दोहोर्‍याएका छन् ।

‘सधै कांग्रेसको पुच्छर भएर हुँदैन । खोइ कम्युनिस्ट पार्टी ? कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालत गएको होइन ? संसदबाट सकिएन परमादेशबाट सरकार बनाइ पाउ भनेर जानेहरू वामपन्थी हुन् ? कोही वामपन्थी हुनुहुन्छ भने आउनुस् । गल्ती भइहाल्यो ल छोडौं । वामपन्थी हुनुहुन्छ भने आउनुस् । एमालेसँग मिलेर जाउँ ।’

ओलीले आफूहरू कांग्रेसविरोधी नभएको र देश, लोकतन्त्र, कानुनी राजको पक्षमा उभिने वाम सरकार बनाउन चाहेको बताए । ‘निष्पक्ष चुनाव गर्ने सरकार बनाउ। वामपन्थी कोही हुनुहुन्छ भने आउनुस् । रातो सेतो बर्को ओढ्ने बेग्लै कुरा हो । बर्को छोडौं । असली रुपमा आउ। वामपन्थी हुनुहुन्छ भने आउनुस्। राष्ट्रिय राजनीतिमा सहमतिका साथ जाउँ’, एमालेका अध्यक्ष ओलीले भनेका छन् ।

माओवादी केन्द्रका नेता श्रेष्ठले अमेरिकाले नेपालको कम्युनिस्ट वामपन्थी आन्दोलनलाई क्षत–विक्षत गर्न चाहेको बताएका छन् ।
श्रेष्ठले अमेरिकाले चीनलाई कमजोर पार्न नेपालको भूमि प्रयोग गर्न चाहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो अगाडि चीन र भारत छ । भारत आफ्नो प्रभाव क्षेत्रका रुपमा नेपाललाई लिन अहिले पनि चाहन्छ । त्यो दृष्टिबाट भारत हटेको छैन । चीन विश्व परिस्थितिमा आफू महाशक्ति राष्ट्र बन्ने दिशातिर वा आर्थिक रुपमा पहिलो राष्ट्र बन्न चाहेको छ ।’

‘नेपालको सत्तालाई प्रयोग गरेर चीन विरोधी गतिविधिको थलो नेपाल हुन नपाओस् भनेर चाहन्छ’, श्रेष्ठले भने, ‘अमेरिका–चीनलाई कमजोर पार्न नेपालको भूमि प्रयोग गर्न चाहन्छ । नेपालमा अहिले पनि अमेरिका कम्युनिस्ट वामपन्थी आन्दोलनलाई क्षत विक्षत गर्न चाहन्छ ।’

‘यो कुरालाई ठीक ढंगले चिर्नु अहिलेको आवश्यकता हो’, उनले भने, ‘हामी स्वतन्त्र एवम् असंलग्न परराष्ट्र नीतिबाट बिचलन हुन त गइराखेका छैनौं ? राष्ट्रिय सार्वभौमिकता कमजोर पार्न खोजिराखेका त छैनौं ? यो प्रश्न गम्भीर रुपमा उठेको छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

नेपाल चीन हिमालयन मैत्री समानको नाममा चीनको पक्षमा माहोल बनाउन ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र अबको बाटो’ विषयमा विचार गोष्ठि राखिएको थियो । अमेरिका, भारत र पश्चिमा राष्ट्रहरूविरुद्ध विषबमन हुने गरेर डा.दिनेश पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

समाजलाई कार्यक्रम गर्न चीनले पैसाको खोलो बगाएको आरोप लागेको छ ।

Published : Saturday, 2022 July 16, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया