एमालेका यी हुन् १ लाखको राहत बाँड्न २८ लाख भ्याउने नेता, मोहन बस्नेतसँग सिक्ने कि ?

काठमाडौं । बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री एवम् एमालेका नेता डोरमणि पौडेलले १ लाख ११ हजार राहत वितरण गर्न जान २८ लाखभन्दा धेरै सरकारी रकम खर्च गरेको खुलासा भएको छ ।

पौडेलसहितको टोलीले एक लाखको राहतका सामग्री वितरण गरेको थियो । त्यो सामग्री बाँड्न जाँदा २८ लाखभन्दा बढी रकम हेलिकोप्टर भाडामा भुक्तानी गरेको पाइएको छ ।

२०७७ साउन २६ गते सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोबाट प्रभावित परिवारलाई राहत बाँड्न तत्कालीन मुख्यमन्त्री पौडेलसहितको टोली लिदी पुगेको थियो ।

एक लाख ११ हजार मूल्यको दाल, चामल, स्वास्थ्यलगायतका राहत सामग्री बोकेर गएको टोलीले १५ पटक हेलिकोप्टरको प्रयोग गरेको थियो ।

पौडेलले १२ पटक नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेका थिए । तीन पटक निजी क्षेत्रको हेलिकप्टर प्रयोग गरेका थिए ।

सेनाको हेलिकोप्टर १२ पटक प्रयोग गरिएबापत ३.१५ घण्टाको दरले बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट २५ लाख ६८ हजार रूपियाँ भुक्तानी भएको छ ।

निजी वायुसेवा कम्पनीको हेलिकोप्टर पनि तीन पटकसम्म प्रयोग गरेबापत थप तीन लाख रूपियाँ भुक्तानी भएको छ ।

पौडेलले एक लाख ११ हजार रूपियाँ बराबरको राहत वितरण गर्न कुल २८ लाख ६८ हजार रूपियाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ ।

महालेखाले आफ्नो ५९औं वार्षिक प्रतिवेदनमार्फत यो विवरण सार्वजनिक गरेको छ । यस्तो अनुत्पादक खर्चमा नियन्त्रण गर्न प्रदेश सरकारहरूलाई सुझाव दिएको छ ।

लिदीको पहिरोका पीडितलाई नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उल्लेख्य रुपमा सहयोग गरेका थिए ।

लिदीसहित सिन्धुपाल्चोकमा कांग्रेस नेता बस्नेतले आफ्नै बलबुता, साथीभाई र सहयोगीहरूमार्फत करोडौंको राहत र नगद पनि वितरण गरेका छन् । बस्नेतले देशका विभिन्न जिल्लाहरूमा पनि राहत र सहयोग बाँडेका छन् ।

एमालेले राहतमा भन्दा पनि हेलिकप्टर चढेर फजुल खर्च गरेको तथ्यले देखाएको छ । कांग्रेस र कम्युनिस्टमा कति फरक छभन्ने कुरा हेलिकप्टरको २७ लाख भाडा र १ लाखको राहत वितरणको घटनाले देखाएको छ ।

Published : Saturday, 2022 July 16, 8:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया