हतियारबारे धेरै ‘कचकच’ भएपछि देउवाले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हतियार किन्ने सरकारको कुनै योजना नरहेको बताएका छन् ।

बिहीबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले हतियार किन्ने योजना नरहेको बताएका हुन् ।

विदेशी मुद्रा सञ्चितिका घटेका कारण अर्थतन्त्र धरासायी बन्ने भन्दै आयातमा कडाइ गरिरहेका बेला सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपियाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । यो विषयमा सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

केन्द्रीय सदस्यहरूले सचेत भएर सत्तारूढ गठबन्धनलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

सदस्यहरूले पार्टीले नेतृत्व गरेको गठबन्धन लोकतान्त्रिक मूल्य, मान्यता एवं विधिको शासनका लागि भएकाले यसको निरन्तरता दिँदा सचेत हुनुपर्ने सुझाव राखेका हुन् ।

बैठकमा बोल्ने सदस्यले भ्रातृ एवं शुभेच्छुक संस्थाको पूर्णता, नेपाल राष्ट्र बैंकका गभर्नर प्रकरणलगायत समसामयिक विषयमा विचार राखेका छन् ।

बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, सुनिलबहादुर थापा, बलबहादुर केसी, नारायण खड्का, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, मिनाक्षी झा, सुजाता परियार, चिनकाजी श्रेष्ठ, ध्यानगोविन्द रञ्जित, रमा कोइराला, अर्जुनजङ्गबहादुर सिंह, उमेश श्रेष्ठ, मञ्जुकुमारी यादव, जानकी सिंह, सुशीला भट्ट मिश्र, गङ्गालक्ष्मी अवाल, सीताकुमारी राना र सुशीला ढकालले आ–आफ्नो धारणा राखेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक असार ३२ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्नेछ ।

Published : Thursday, 2022 July 14, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया