बाँझो जमीनमा अन्न उब्जनी नगर्दासम्म समुद्धि आउँदैन : कांग्रेस नेता बस्नेत

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको विकास र समृद्धिका लागि कृषि व्यवसाय महत्वपूर्ण रहेको बताएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसेस्थित आफ्नो खेतमा सोमबार धानको रोपाइ र आली लगाउने क्रममा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै नेता बस्नेतले कृषिमार्फत मुलुकको मुहार फेर्न सकिने बताए । उनले खेतीपाती गरेर उब्जिएको अन्नबाली बिक्री गरेर आर्थिक सम्पन्नतातर्फ जान सकिने बताए ।

‘कृषिप्रधान देश नेपाल अनि अधिकांश कृषिमा आश्रित हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरुलाई कृषि कर्ममा हौसला प्रदान गर्ने उद्देश्य अनुरुप विगतका वर्षहरुमा झैं म आफ्नो गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसेस्थित खेतको रोपाइँ गर्ने कार्यमा सरिक भएको छु’, उनले भनेका छन् ।

‘जबसम्म पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेका हाम्रा बाँझा रहेका खेतीयोग्य जमीनमा अन्नअनाजहरु खेती गरिँदैन तबसम्म मुलुकको समृद्धिको सपना पूरा हुन सक्दैन’, उनले भने, ‘सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई आफ्ना खेतीयोग्य जमीनहरुमा खेतीपाती गर्दै आत्मनिर्भर बन्नुहुन हार्दिक अपील गर्दछु ।’

नेता बस्नेत खेतीपातीको समयमा आफै खेतमा आफन्त र मजदुरहरुसँग सँगै काम गर्नेछन् । आली लगाउने, खेत जोत्नेदेखि सम्पूर्ण काममा उनी आफै सक्रिय भएर लाग्ने गरेका छन् ।

Published : Tuesday, 2022 July 5, 10:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया