खोरमा रहेका टोले गुण्डा ‘कुले’लाई छुटाउन तीर्थ लामाको ठूलो हर्कत, तनावमा प्रहरी

काठमाडौं । केही वर्ष अघिसम्म मौलाएको उपत्यकाको गुण्डागर्दी एकाएक बढेर गएको छ ।

राजनीतिक संरक्षणमा ठमेल, नयाँ बसपार्क, दरबारमार्ग र गोंगबु क्षेत्रमा गुण्डागर्दी बढ्दै गएको छ । केही समयअघि ठमेलको एलओडी डिस्कोमा झगडा हुँदा सोह्रखुट्टे बृत्तका इन्सपेक्टर शंकर श्रेष्ठले गुण्डागर्दीमा संलग्न अभिषेक शेरचनलाई पक्राउ गरी कारबाही गर्न खोजेका थिए । तर, महानगरीय प्रहरी कार्यालयका तत्कालीन प्रमुख एआईजी हरिबहादुर पालले उल्टै क्लव सञ्चालक राजु सिंह (माइला)लाई पक्राउ गरी मुद्दा चलाएका थिए । गृह मन्त्रालयबाट फोन आएपछि क्लवमा आतंक मच्चाउने शेरचनलाई छाडेर पक्राउ गर्न गएका इन्सपेक्टरमाथि महानगरीय प्रहरी कार्यालयले सोह्रखुट्टे बृत्तबाट तानेको थियो ।

क्लवमा आतंक मच्चाउन खोज्ने गुण्डा शेरचनलाई संरक्षण गरी क्लव सञ्चालकलाई पक्राउ मात्रै गरिएन, इन्स्पेक्टर श्रेष्ठलाई पनि बृत्तबाट हटाइयो । अनि, कसरी प्रहरीको मनोबल उच्च हुन्छ ? यो घटनाले ठमेलको एलओडी क्लव मात्र नभई अन्य रेष्टुरेन्ट सञ्चालकहरुले पनि शान्ति सुरक्षाको प्रत्याभूति गरी निर्धक्ककासाथ व्यवसाय गर्न नपाएको गुनासो गरेका छन् । किनकी ठमेलमा अहिले पुराना गुण्डा समूहहरु अहिले सलबलाई सकेका छन् ।

तीन महिनाअघि डान्स रेष्टरेन्टमा गएर युवतीमाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेको तीन दिनमै छुटेका थिए । बम ठमेलमा गुण्डाका रुपमा परिचित छन् ।

त्यस्तै पछिल्लो समय प्रहरी मुकदर्शक बन्दा प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’ निकटका गुण्डाको गोंगबु र ठमेल क्षेत्रमा गुण्डागर्दी बढेको ठमेलकै व्यवसायीहरु बताउँछन् ।

अहिले काठमाडौंमा अधिकांश गुण्डा नाइकेहरुलाई राजनीतिक संरक्षण रहेका कारण प्रहरीले चाहेर पनि केही गर्न सकेको छैन् ।

दुई साताअघि दरबारमार्गको प्लाटिनम डिस्कोमा बालुवाटारका प्रतिकभास्कर सिंहमाथि कुटिपिट गरी टाउको फुटाउने काभ्रेली गुण्डा कुलध्वज लामा ‘कुले’ यतिखेर दरबारमार्ग प्रहरीको हिरासतमा छन् ।

लिंकन स्कुलमा अध्ययनरत राम्रो परिवारका सिंह साथीभाइहरुसँग रमाइलो गर्न क्लवमा पुगेका थिए । तर, एक्कासि उनलाई कुले समूहले आक्रमण गर्दा टाउकोमा सातभन्दा बढी टाका लगाउनु परेको छ । सिंह नेपाली सेनाका एक जर्नेलका छोरा पनि हुन् ।

शुरुमा सार्वजनिकमा म्याद थपेको प्रहरीले कुलेमाथि ज्यानमार्ने उद्योगमा अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न कुले समूहमा रहेका विशाल तामाङ, सञ्जय लामा (नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामाका भतिजा), डलर तामाङलगायत आधा दर्जन गुण्डाहरु फरार रहेका छन् ।

काभ्रे कांग्रेसका सभापति एवं पूर्वसांसद तीर्थ लामाले मुद्दा कमजोर बनाई कुलेलाई सरकारी वकिलबाटै छुटाउन बृत्तका डिएसपी विश्वराज खड्कालाई निरन्तर दबाब दिइरहेको प्रहरी स्रोत बताउँछ । अन्य गुण्डालाई पनि पक्राउ नगर्न सभापति लामाले प्रहरीलाई दबाब दिइरहेका छन् ।

डीएसपी खड्काले भने अपराधमा संलग्न ‘कुले’ भन्ने कुलध्वज लामालाई पक्राउ गरेर कारबाही शुरु गरिएको र घटनामा संलग्न अन्य गुण्डाहरुको खोजी भइरहेको बताएका छन् । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रबिन्द्र धानुकले गुण्डागर्दी नियन्त्रणका लागि प्रहरीले कडाइ गरिसकेको र गुण्डागर्दीमा संलग्न कुनै पनि समूहलाई नछाडिने बताए ।

कुले समूहको आक्रमणमा परी घाइते भएका सिंहको घर सुदूरपश्चिम रहेको र उनको बालुवाटारमा राम्रो सम्बन्ध रहेका कारण प्रहरीमाथि कुले समूहको आतंकलाई मत्थर पार्न दबाब परिरहेको छ । तर, कांग्रेस काभ्रेका सभापति लामाले पनि बालुवाटारलाई काउन्टर दिने गरी प्रहरीमा त्यतिकै दबाब दिइरहेका छन् ।

कुले समूह यसअघि सुन र डलर लुटपाटमा पनि संलग्न रहेको प्रहरीको भनाई छ । कुलेलाई २०७२ सालमा तत्कालीन महानगरीय अपराध महाशाखाले सुन लुटपाटमा पक्राउ गरी मुद्दा चलाएको थियो ।

Published : Friday, 2022 July 1, 9:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया