मतदातालाई धन्यावाद दिँदै मन्त्री चौधरीले लिए बुबाआमाको आशीर्वाद

गढवा । शहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्ना बुबा र आमासँग आशीर्वाद लिँदै मतदाताहरुलाई धन्यावाद दिएका छन् ।

मन्त्री पदको शपथ लिएर पदभार ग्रहण गरेपछि गृहजिल्ला दाङको देउखुरीस्थित गढवा बजारमा रहेको घरमा बिहीबार साँझ आइपुगेका चौधरीले बुबा र आमासँग आशीर्वाद लिएका हुन् । उनले परिवारजन र छरछिमेकसँग पनि आशीर्वाद लिएका छन् ।

आफ्नै निवासमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले दाङको क्षेत्र नं. १ का मतदाताले आफूलाई मतदान गरेर विजयी बनाएर पठाएकै कारण मन्त्री बन्ने अवसर पाएको बताए । उनले आफूले पाएको जिम्मेवारीलाई इमान्दारिताका साथ पालना गर्ने प्रतिवद्धता जनाए ।

आफ्नो क्षेत्रको विकासमा आफूले पहलहरु गरेर विकासका कार्यक्रम र योजना ल्याएको समेत उनले बताए । मन्त्री बनेपछि थप कार्यक्रम र योजना ल्याउने बताएका छन् ।

उनले आफू मुलुकै मन्त्री भएका कारण अरु जिल्लामा पनि विकास र योजनाका कार्यक्रमहरु हेर्नुपर्ने दायित्व आएको बताए ।

आगामी निर्वाचनमा पनि आफू दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने संकेत गरेका मन्त्री चौधरीले मतदाताहरुले विजयी बनाउनेमा अपेक्षा लिएको बताए ।

यसअघि, मन्त्री चौधरीले सतबरियाको बनघुस्रीमा पार्टीका कार्यकर्ताहरुसँग भेटघाट गरेका थिए । छोटो भेटघाटमा मन्त्री चौधरीले गाउँ, टोलमा भएका समस्याबारे आफ्ना मतदाताहरुसँग जानकारी लिएका थिए । उनले जनताको मागलाई सक्दो प्रयास गरेर पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री चौधरीले आफ्नो निजी सचिवालयमार्फत योजना, कार्यक्रम र माग तथा समस्याहरु टिपाएर सहयोग गर्न आग्रह गरेका छन् ।

आफ्नो मोबाइल उठेको भनेर गुनासा आएका विषयमा मन्त्री चौधरीले भने, ‘म कहिले संसदमा हुन्छु । कहिले समितिहरुको बैठकमा हुन्छु । त्यो बेला मोबाइल नउठेको हुन सक्छ । त्यसलाई अन्यथा नलिइदिनु होला ।’

मन्त्री चौधरीले शुक्रबार घोराहीमा पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्नुका साथै पार्टी कार्यालयको कार्यक्रममा सहभागी हुने कार्यसूची छ ।

दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र कार्यालय प्रमुखहरुसँग पनि भेट गर्ने कार्यक्रम छ । त्यसपछि देउखुरीका कार्यक्रमहरुमा शनिबार सहभागी भएर काठमाडौं जाने कार्यक्रम छ ।

गढवामा मन्त्री चौधरीको सामान्य कच्ची घर रहेको छ । सो घरमा बुबा र आमा तथा परिवारका अन्य सदस्य रहने गरेका छन् ।

थारु संस्कृतिअनुसार घरमा स्वागतका लागि आएका पाहुना, शुभेच्छुक, मतदाताहरुलाई मन्त्री चौधरीले खाना खुवाएर पठाएका थिए ।

Published : Thursday, 2022 June 30, 11:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया