एथलेटिक्समा पदक विजेता खेलाडीहरूलाई आईजीपीद्वारा सम्मान

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले ‘४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता’मा नेपाल एपीएफ क्लवका पदक विजेता खेलाडीहरूलाई सम्मान गरेका छन् ।

सशस्त्र प्रहरीको प्रधान कार्यालयमा सोमबार आयोजित समारोहमा खेलाडीहरूलाई सम्मान गरिएको हो ।

आईजीपी अर्यालले खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने गरी संगठनमा आवद्ध खेलाडीहरूको मनोवल उच्च बनाई राख्न आवश्यक सेवा सुविधाहरू समेत थप गर्दै लैजाने संगठनको योजना रहेको बताए ।

उनले प्रतियोगितामा सहभागी खेलाडी, व्यवस्थापक तथा प्रशिक्षकलाई धन्यवाद दिए ।

उनले नेपाल एपीएफ क्लवका खेलाडीहरूले संगठनमा उपलब्ध श्रोतसाधनको उच्चतम प्रयोग गर्दै आगामी दिनमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल एथलेटिक्स संघको आयोजनामा काठमाडौंको दशरथ रंगशालामा असार १० गतेदेखि १२ गतेसम्म संचालन भएको प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरूले ९ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल २३ पदक जित्न सफल भएका छन् ।

Published : Tuesday, 2022 June 28, 7:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया