त्रिभुवन विमानस्थलमा जजिराको जहाज दुर्घटनबाट बच्यो, अधिकारी–ठाकुरको ठूलो लापरबाही

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा रनवेमा मानिसलाई देखेपछि जजिरा एयरलाइन्सको विमान २० मिनट आकाशमा उडेको छ ।

आइतबार बिहान बिहान ३:२० बजे कुवेतबाट आएको जजिरा एयरलाइन्सको विमान जे ९५४१ अवतरण हुनै लागेका बेला रनवेमा मानिस हिँडेको देखेपछि पाइलटले जहाजलाई आकाशमा उडाएका छन् ।

विमान रनवेनजिकै पुगिसकेको थियो । पाइलटले जहाजलाई आकाशमा उडाएर ठूलो दुर्घटनाबाट बचाएका छन् । पाइलटले रनवेमा मानिस हिँडेको जानकारी एटीसीलाई जानकारी गराएपछि रनवे क्लियर गरेर जहाज अवतरण गरिएको थियो ।

जजिराको जहाज कुवेतबाट एक सय सात यात्रु बोकेर काठमाडौं आएको थियो ।

विमानभित्र सफाइ गर्ने नेपाल एयरलाइन्सका तर्फबाट खटिएका कर्मचारी रनवेमा हिँडेको खुलेको छ । ती कर्मचारी सुनगाभा नामक निजी कम्पनीको रहेको खुलेको छ ।

सफाइका लागि नेपाल एयरलाइन्सले सुनगाभालाई जिम्मेवारी दिएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले घटनालाई सामान्य रुपमा लिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पनि छानविन र कारबाहीमा कुनै चासो देखाएका छैनन् ।

महाप्रबन्धक ठाकुरले आइतबार बिहानको घटनालाई सामान्य प्रकृतिको भएको बताएका छन् ।

रनवेमा हिँड्ने पाँच जना कर्मचारीहरू दीपेन्द्र चौधरी, कारसाङ तामाङ, डेबिड थापा, नवयुग अधिकारी र थलबहादुर खड्कालाई हटाइएको ठाकुरले बताएका छन् ।

Published : Monday, 2022 June 27, 8:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया