प्रेम आलेको शासन ढल्यो, राजीनामाको खबरले पर्यटन मन्त्रालयमा भव्य खुसीयाली

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितका नेकपा (एकीकृत समाजवादी)का केही मन्त्रीहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् ।

काठमाडौंमा आइतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरूले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका छन् ।

केही मन्त्रीहरूले सरकारबाट फिर्ता हुनका लागि आफूलाई राजीनामा पत्र बुझाइसकेको नेपालले बताएका छन् ।

नेपालले मन्त्रीहरूले राजीनामा पत्र बुझाउँदै पार्टीले आवश्यकताअनुसार सो पत्र बाहिर ल्याओस् भनेको जानकारी दिएका छन् ।

राजीनामा पत्र गोजीमा लिएर हिँडिरहेको भन्दै अध्यक्ष नेपालले कुनै पनि बेलामा सो पत्र सार्वजनिक गर्ने बताएका छन् ।

‘केही मन्त्रीहरूले राजीनामा पत्र मलाई दिनुभएको छ’, नेपालले भने, ‘पार्टीले जुन बेला बाहिर ल्याउने हो त्यो राजीनामा पत्र ल्याइदेओस् भन्नुभएको छ । त्यो म गोजीमा लिएर हिँडिरहेको छु ।’

उनले भने, ‘कुनै बेला त्यो राजीनामा पत्र बाहिर प्रेसमा पठाएर त्यसलाई म सार्वजनिक पनि गर्नेछु । अरू मन्त्रीहरूले पनि त्यस्तै ढंगले राजीनामा पत्र पठाउनुहुनेछ ।’

अध्यक्ष नेपालले अन्य मन्त्रीहरूले पनि आफूलाई राजीनामा पत्र पठाउनेमा विश्वास व्यक्त गरेका छन् ।

उनले मन्त्रिपरिषद् पुनर्गठनका लागि पार्टीले पठाएको पत्र पर्याप्त रहेको भन्दै सो आधारमा सरकारले तुरुन्त मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

‘राजीनामा पत्र नै चाहिँदैन । पुनर्गठन गर्नका लागि हामीले पठाएको पत्र नै पर्याप्त छ’, उनले भने, ‘त्यस आधारमा यो सरकारले तुरून्त त्यो निर्णय लागू गर्ने कुरामा लागोस् ।’

आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बताएको छ ।

मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।

आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

पछि हस्ताक्षर गर्नेहरूमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए ।

आलेको राजीनामा अध्यक्ष नेपालसमक्ष आएको नेता सोमप्रसाद पाण्डेले बताएका छन् । आलेको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगिसकेको छैन ।

एकीकृत समाजवादीका मन्त्रीहरू अहिले पनि मन्त्री पद जोगाउन दौडधुपमा छन् ।

पर्यटनमन्त्री आलेले मन्त्रालयमा निकै समस्या बनाएका थिए । आलेले अध्यक्ष नेपाललाई राजीनामा बुझाएको समाचार सुन्नेवित्तिकै मन्त्रालयका कर्मचारी, ठेकेदार, व्यापारीहरू खुसी भएका छन् ।

Published : Sunday, 2022 June 26, 2:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया