थापालाई सांसद खरिदका नाइकेभन्दै शेर्पाले दिए कडा जवाफ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई अध्यक्षमा पराजित हुनेवित्तिकै भाग्ने व्यक्तिले एन्फामा राजनीति भयो भन्नु उचित नरहेको बताएका छन् ।

शेर्पाले सामाजिक सञ्जालमार्फत थापालाई कडा जवाफ दिएका हुन् । थापाले शेर्पालाई एन्फामा राजनीति गरेको आरोप लगाएपछि थापाले दह्रो जवाफ भेटेका हुन् ।

‘कमल थापाजी के तपाईंको पेशा राजनीति होइन र ? किन भने पञ्चायतमा मण्डले, बहुदलमा मन्त्री हुन सांसद खरिद र हेरफेरको नाइके’, शेर्पाले भनेका छन्, ‘अनि गणतन्त्रमा हिन्दूराज्य र राजतन्त्रको नाममा राजनीति, अहिले आएर राजेन्द्र लिङ्देनसंग अध्यक्षमा हारेपछि राजतन्त्र असम्भव भन्ने, आफ्नो स्वार्थअनुकूल हिँड्ने मनुले मलाई फुटबलमा राजनीति गरेउ भन्नलाई कति सान्दर्भिक छ ? समयले बताला ।’

निवर्तमान अध्यक्ष शेर्पाले एन्फाको अध्यक्षमा निर्वाचित पंकज नेम्वाङलाई बधाई र शुभकामना दिएका छन् ।

‘अखिल नेपाल फुटबल संघको अध्यक्षमा निर्वाचित हुनुभएका पंकज नेम्वाङलाई बधाई र शुभकामना’, शेर्पाले भनेका छन् ।

यसअघि, राप्रपा नेपालका अध्यक्ष थापाले भनेका थिए, ‘एन्फाको पूर्वअध्यक्षको भएको नाताले फुटबल खेलजगतमा केही वर्षयता हावी रहेको गलत प्रवृत्ति र राजनीतिकरणप्रति म अत्यन्त चिन्तित थिएँ ।’

थापाको यो भनाइप्रति शेर्पाले कडा आपत्ति जनाउँदै तत्काल जवाफ दिएका हुन् ।

‘पंकज नेम्वाङको नेतृत्वमा फुटबलजगतमा नयाँ आयाम शुरु हुने विश्वास गर्दछु’, थापाले भनेका छन् ।

राप्रपा नेपालका अध्यक्ष थापाका भाई गणेश थापालाई एन्फाबाट विस्थापित गर्ने शेर्पा नै हुन् । शेर्पाले गणेश थापाको कब्जामा रहेको लामो निरंकुशता र एकाधिकारलाई चिरेर एन्फाको नेतृत्वमा सबैको पहुँच बनाएका थिए ।

अध्यक्ष थापाका भाई गणेश थापालाई एन्फामा भ्रष्टाचारको मद्दा समेत लागेको थियो । उनको त्यो भ्रष्टाचारको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको छ ।

Published : Sunday, 2022 June 26, 7:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया