खेलको ज्ञान नभएकाहरूका कारण खेलकुद धराशायी बन्दैछ : कांग्रेस नेता महर्जन

लगनखेल । नेपाली कांग्रेस लोकप्रिय युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले नेपालमा खेलकुद मन्त्रीमा खेलबारे ज्ञान नभएका व्यक्ति नेतृत्वमा आएका कारण खेलकुद धराशायी बन्दै गएको टिप्पणी गरेका छन् ।

ललितपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्लास्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको कराते उसु खेलको पुरुस्कार बितरण कार्यक्रममा नेता महर्जनले खेल बुझेको व्यक्तिलाई खेलकुद मन्त्री बनाउनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महर्जनले राष्ट्रको पहिचान गराउने भनेकै खेलकुदको माध्यम रहेको बताए ।

नेता महर्जनले अर्जेन्टिना, ब्राजिल, इजिप्ट, सेनेगल जस्तो देशको प्रशंसा गर्दै ती देशलाई खेलाडी खेलकुदले विश्वभरि चिनाएको बताए ।

महर्जनले भने, ‘नेपालमा खेलकुदको नेतृत्व गरेर आउनेहरूको अबधि ६ महिनादेखि वर्षदिन हुन्छ । उनीहरूलाई खेलकुदको सबै सिक्न २ वर्ष लाग्छ । अनि कसरी खेलकुद विकास हुन्छ ?’

पुरुस्कार वितरण कार्यक्रममा विशेष अतिथि ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् किक्कक्सिङ पूर्व राष्ट्रिय खेलाडी विनोद महर्जन, ललितपुर महानगरपालिका– २८ का वडाध्यक्ष वीरेन्द्र महर्जन, २९ का वडाध्यक्ष गणेशकुमार महर्जन, ललितपुर कांग्रेसका जिल्ला सदस्य जितेन्द्र महर्जन, खेलकुद विकास समितिका सचिव कृष्ण खनाल लगायतले उसु खेलको पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमको सभापतित्व ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले गरेका थिए । सो कार्यक्रमका प्रमुख अतिथि महर्जनले पुरस्कार प्रदान गरेका थिए । युवा नेता महर्जन खेलकुद र ललितपुर कांग्रेसमा लोकप्रिय मान्छिन् ।

Published : Saturday, 2022 June 25, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया