कांग्रेस नेता रोकाले ६ जना अन्तरघातीलाई गाला सुन्निने गरी दनक दिए

मन्थली । नेपाली कांग्रेसका प्रदेश कार्यसमितिका सदस्य प्रदीप रोकाले कार्यकर्तालाई कुटपिट गरेर घाइते बनाएका छन् ।

शनिबार रामेछापको मन्थली नगरपालिका–३ मा रोकाको कुटपिटबाट ६ जना कार्यकर्ता घाइते भएका हुन् ।

मन्थली नगरपालिका वडा नं. ३ मा चुनावी समीक्षा कार्यक्रममा आएका कांग्रेस नेता रोकाले अन्तरघातीहरू नेता कार्यकर्तामाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कुटपिटबाट कांग्रेस नेता युवराज भट्टराई, केशवकुमार रोका, सन्तोष भट्टराई, नारायण भट्टराई, राजन रोका, किरण बोगटी लगायत घाइते भएका छन् ।

उनीहरूलाई रोकाले अन्तरघातीको आरोप लगाएका छन् । कांग्रेस हराउन यी ६ जना नेता कार्यकर्ताको ठूलो भूमिका रहेको आरोप छ ।

नेता रोकाले युवराज भट्टराई लगायत कार्यकर्तालाई अन्तरघातीको संज्ञा दिँदै उनीहरूकै कारण वडा र नगरको निर्वाचनमा पराजित हुनु परेको आरोप लगाउँदै कुटपिट गरेका हुन् ।

वडा सदस्यमा पराजित राजन रोकाले नेता रोकाले जे पायो त्यसैले प्रहार गरेको बताएका छन् ।

कुटपिटमा घाइते भएकाहरू तामाकोसी अस्पतालमा सामान्य उपचारपछि घर फर्केका छन् ।

प्रहरी नायव उपरीक्षक राजकुमार थिङले कुटपिटमा संलग्न कांग्रेस नेता रोकालाई प्रहरीले हिरासतमा लिएको बताए ।

रामेछापमा कांग्रेसको किल्ला भनेर चिनिने कठजोरमा स्थानीय तहको निर्वाचनमा एमाले विजयी भएको छ ।

अपत्यारिलो हार भएको भन्दै वडामा कांग्रेसले समीक्षा बैठकको आयोजना गरेको हो ।

Published : Saturday, 2022 June 25, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया