अन्तिम टोली मक्कामदिना उड्यो, गृहमन्त्री खाणद्वारा विदाइ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई विदाइ गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान ११३ हजयात्रीलाई विदाइ गरेका हुन् ।

यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्य शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको कांग्रेसका युवा नेता डा.अबुल हुसैन अन्सारीले जानकारी दिए ।

हजयात्रीलाई विदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गरेको बताए ।

उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने बताए ।

हजयात्रीलाई बिदाइ गर्न नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँसहितको उपस्थिति थियो ।

असार ६ गतेदेखि दैनिक एयर अरेबियाको हवाइजहाजबाट एक टोली हज गर्न गइरहेको छ ।

नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेब्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ ।

महावाणिज्यदूतावासबाट १० जनाको स्वयंसेवकको टोली हजयात्रीको व्यवस्थापनका लागि खटिएको छ ।

टोलीमा ८ जना डेलिकेट्स् र ३ जना मेडिकल सपोर्ट टीम सहभागी छ ।

हज यात्रा गरेर प्रत्येक टोली ३४ दिनपछि नेपाल फर्कनेछ ।

मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।

Published : Friday, 2022 June 24, 9:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया