यी ‘अराजक’ मन्त्रीविरुद्ध संसद सचिवालयमा उजुरी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको छ ।

आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील गालीगलौज गरेको अडियो सार्वजनिक भएको थियो । आलेलाई प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेकपा (एकीकृत समाजवादी)ले कारबाही गरेर बर्खास्त गर्नुको साटो संरक्षण गरेर राखेपछि संसद सचिवालयमा उजुरी परेको हो ।

मन्त्री आलेकै चाहनामा अधिकारीलाई मन्त्रिपरिषदले हाल निलम्बन गरेको छ ।

अधिवक्ता किशोर पौडेल, अनुपम भट्टराई र कानूनका विद्यार्थी रेजिना पौड्यालले गत असार ५ गते संसद सचिवालयको आचरण अनुगमन समितिको नाममा प्रतिनिधि सभा सदस्यको आचारसंहिता विपरितको गतिविधिको बारेमा उजुरी गरेका हुन् ।

उनीहरुले प्रतिनिधि सभाको सांसदको समेत हैसियतमा रहेका डोटीका सांसद आलेले अश्लील तथा अपशब्द प्रयोग गर्ने गरेको भन्दै उजुरी गरेका थिए ।

फागुन ३ गते सार्वजनिक भएको पहिलो अडियोमा मुम्बईमा बस्ने एक नेपालीलाई अश्लील शब्द बोल्दै ठेगान लगाइदिने धम्की दिएको र त्यसपछि पनि सार्वजनिक स्थानमा राजनीतिक दलका नेता एवं निजामती कर्मचारीहरूलाई अश्लील तथा अपशब्द प्रयोग गर्ने गरेको पाइएको उजुरीमा भनिएको थियो ।

दोस्रोपटक असार ३ गते युवराज अधिकारीलाई अश्लील शब्द प्रयोग गर्दै हातपात गरिएको अडियो भेटिएपछि सो व्यवहार प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१६ को उपनियम ‘ख’ को विपरित रहेको भन्दै अडियो परीक्षण गरेर कारवाहीको माग गरिएको थियो ।

Published : Thursday, 2022 June 23, 11:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया