एम्बोस्ड नम्बर जडान नगरे १ वर्ष कैद र सवारी साधन जफत गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेट समयसीमाभित्र जाडन नगरे असार १ गतेबाट एक वर्ष कैद गर्ने चेतावनी दिएको छ ।

राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बुधबार बसेको बैठकमा राजपत्रको सूचनाअनुसार प्लेट नजोडे सवारी जफत गरेर एक वर्ष कैद गर्ने चेतावनी दिएको छ ।

सरकारले एम्बोस्ड नम्बर प्लेट डिजाइनमा त्रुटि भएको स्वीकार गरेको छ ।

सांसदहरूले नम्बर प्लेट खुइलिने, फुट्ने समस्या आएको भन्दै प्रश्न सोधेका थिए ।

यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले इम्बोस्ड नम्बर प्लेट फुट्ने समस्या देखिएको स्वीकार गरेका छन् ।

घिमिरेले मोटरसाइकलको हकमा इम्बोस्ड नम्बर प्लेट फुट्ने समस्या आएको बताए । उनले पर्याप्त अनुसन्धान नगरी इम्बोस्ड नम्बर प्लेटको डिजाइन गरिएकाले समस्या आएको बताएका छन् ।

घिमिरले मोटरसाइकलको प्लेटको साइज सानो भएकाले पनि समस्या भएको बताए ।

इम्बोस्ड नम्बर प्लेट आईएसओ ९००० अनुसारको भएको हुनाले त्योभन्दा सानो गर्न नमिल्ने उनले बताएका छन् । अधिकांश मोटरसाइकलमा जडान गरिएका इम्बोस्ड नम्बर प्लेट च्यातिने गरेको घिमिरेले बताएका छन् ।

नेपालका कस्तो प्रकृतिको सवारी आउँछ, त्यसमा कस्तो साइजको प्लेट लाग्छ भनेर बजार अनुसन्धान नगरी प्लेट डिजाइन गरिएका कारण समस्या आएको महानिर्देशक घिमिरेले बताएका छन् ।

सरकारले उपभोक्ताबाट गुनासो आइरहे पनि इम्बोस्ड नम्बर प्लेट लागू गर्नबाट पछि नहट्ने जनाएको छ ।

राज्यले ठूलो रकम खर्च गरेर ठेक्का दिइसकेको र नम्बर प्लेट नबनाए पनि ठेकदारलाई शतप्रतिशत रकम भुक्तान गर्नुपर्ने भएकाले इम्बोस्ड नम्बर प्लेट लागू गर्नबाट सरकार पछाडि नहट्ने जानकारी समितिको बैठकमा दिइएको छ ।

साउनको १ गतेदेखि कडाइका साथ इम्बोस्ड नम्बर प्लेट जडान गरेको छ वा छैन भनेर चेकिङ हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताएका छन् ।

इम्बोस्ड नम्बर प्लेट जडानका लागि वर्ग तोकिएको उनले जानकारी दिएका छन् ।

नयाँ दर्ता हुने, ब्लुबुक नवीकरण हुने र नामसारी हुने सवारी गुड्नका लागि आगामी १ साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको बताए ।

सवारीमा १ साउनदेखि कडाइका साथ अनुगमन हुने र इम्बोस्ड नम्बर प्लेट जडान नभएको हकमा कारबाही गर्ने नीति सरकारले लिएको मन्त्रालयका सचिव सिग्देलले जानकारी दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक घिमिरे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारी धनीलाई एक वर्ष कैद हुने बताए ।

कैदसँगै सम्बन्धित सवारी जफत गरी ५ हजारदेखि १५ हजारसम्म जरिवाना हुने उनको भनाइ छ ।

अहिलेसम्म सबै सरकारी गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छैन । त्यो सरकारको निर्णयका बर्खिलाप भएको विभागले बताएको छ ।

यसैबीच, एमालेका सांसद भीमबहादुर रावलले आफूले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् ।

समितिको बैठकमा बोल्दै रावलले भने, ‘म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ । बरू सरकारले एक वर्ष जेल हाल्ने भनेको छ, म एक वर्ष जेल जान तयार छु ।’

याायात विभागका महानिर्देशक घिमिरेले अहिलेलाई सरकारी गाडीलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य भएको बताए ।

‘२०७८ फागुनपछि व्यक्तिबाट नयाँ गाडी किन्दा इम्बोस्ड नम्बर राख भनेको हो । साउनदेखि नवीकरण गर्ने बेलामा हुन्छ’, घिमिरेले भने, ‘त्यो नम्बर कुदेको हुन्छ । त्यही भएर खुइँलिदैन ।’

इम्बोस्ड नम्बर प्लेटबारेको छलफलमा यातायातमन्त्री रेनुकुमारी यादव भने अनुपस्थित भएकी छिन् ।

मन्त्री यादव बिनाजानकारी अनुपस्थित भएकी हुन् । मन्त्रीको अनुपस्थितिबारे समिति सदस्यहरूले आशंका र प्रश्न गरेका छन् ।

Published : Wednesday, 2022 June 22, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया