आईजीपी सिंहद्वारा प्रतिष्ठान र संगीत विद्यालयको निरीक्षण

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको निरीक्षण गरेका छन् ।

बुधबार आईजीपी सिंहले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी ब्यारेक, मेस, पुस्तकालयको साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूको कवाज एवम् प्रतिष्ठान परिसरमा अवस्थित अपराध अनुसन्धान विद्यालयको समेत निरीक्षण गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिंहले सोही अवसरमा प्रतिष्ठान परिसरस्थित बाधापार इलाकामा वृक्षरोपण समेत गरेका छन् ।

आईजीपी सिंहले नेपाल प्रहरी शिक्षालय भरतपुर, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंज, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रका प्रतिनिधिहरूलाई प्रहरी सहायक निरीक्षक र प्रहरी जवान आधारभूत तालिमहरूको प्रशिक्षण म्यानुअल हस्तान्तरण गरेका छन् ।

सिंहले प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा नवप्रवेशीलाई प्रहरी बनाउन र उन्नत तालिमका प्रशिक्षार्थीहरूलाई व्यावसायिक बनाउन प्रशिक्षकको भूमिका अहम हुने तथा यस गहन जिम्मेवारी बोकेका प्रशिक्षकले सदैव उत्प्रेरित भएर प्रशिक्षणमा केन्द्रित हुनुपर्ने बताए ।

उनले प्रतिष्ठान परिसरमा उच्चस्तरको अनुशासन प्रस्तुत गर्न निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षार्थीलाई तालिमप्रति उत्प्रेरित गर्न प्रशिक्षण वातावरण, प्रशिक्षार्थीले पाउने सुविधा, प्रशिक्षण सामग्रीको उपलब्धता, प्रशिक्षार्थीप्रतिको व्यवहार लगायतका तत्वहरू हुनुपर्ने उल्लेख गर्दै प्रशिक्षणमैत्री वातावरण बनाउन प्रतिष्ठान केन्द्रित हुनुपर्ने बताएका छन् ।

नेपाल प्रहरीका तालिम प्रदायक संस्थामध्ये प्रतिष्ठान मेरूदण्ड भएको र प्रतिष्ठानले अवलम्बन गरेका असल अभ्यास अन्य संस्थाको लागि अनुकरणीय हुने भएकोले प्रतिष्ठानको गतिविधि सदैव नमूना हुन जरूरी रहेको उनले चर्चा गरेका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यले धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुखबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि प्रतिष्ठानमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी प्रतिवद्ध रहेको बताए ।

प्रतिष्ठानका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले प्रतिष्ठानको गतिविधि, चुनौती र अपेक्षासहितको प्रस्तुतीकरण गरेका छन् ।

यसैबीच, आईजीपी सिंहले नेपाल प्रहरीको अभिन्न अङ्गको रुपमा रहेको सङ्गीत विद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूले विपद् लगायत अन्य आपतकालीन अवस्थामा समेत काम गरी संगठनलाई थप योगदान दिनुपर्ने बताएका छन् ।

नेपाल प्रहरी सङ्गीत विद्यालय महाराजगंजको बुधबार निरीक्षण पश्चात कार्यरत कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा उनले उक्त कुरा बताएका हुन् ।

सिंहले प्रहरी कर्मचारीहरूको आफू कार्यरत रहेको ठाउँमा उत्कृष्टता दिने मूल दायित्व रहने चर्चा गर्दै अनुशासन, उत्कृष्टता, लगनशीलताले निश्चय पनि सङ्गीत क्षेत्रलाई शिखरमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

नेपाल प्रहरीसँगै नेपाल प्रहरी वैण्डको प्रख्याति आउनुपर्नेमा जोड दिँदै नेपाल प्रहरीको सङ्गीतलाई अझै गतिशील बनाउन यसको आधुनिकिरण तथा विद्यालयमा कार्यरत प्रहरी कर्मचारीको हित र वृत्ति विकासका लागि प्रहरी संगठन सचेत रहेको बताए ।

सङ्गीत विद्यालयका प्रहरी नायव उपरीक्षक भुलाराज खनाल समेतको सङ्गीत टोलीले विभिन्न साङ्गीतिक प्रस्तुती दिएका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2022 June 22, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया