सबैले टिकट पाउन सकिँदैन, पाउनेलाई जिताउनुपर्छ : डा.राणा

कुश्मा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले देशमा लोकतन्त्र संस्थागत गर्नका लागि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म गठबन्धन कायमै रहने बताएकी छिन् ।

मंगलबार नेपाली कांग्रेस पर्वतले कुश्मामा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै डा.राणले गठबन्धन कायम रहने बताएकी हुन् ।

लोकतन्त्रको रक्षा र देशको राष्ट्रियता बचाउनका लागि आगामी निर्वाचनसम्म गठबन्धन धानेर लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

‘आगामी निर्वाचनसम्म गठबन्धन गरेरै जाने तयारी छ । अहिलेको गठबन्धन कसरी भएको हो भन्ने कुरा सबैलाई अवगत नै छ’, उनले भनेकी छिन्, ‘सोहीअनुसार सबै नेता कार्यकर्ताले बुझ्नुपर्ने आवश्यकता छ ।’

कांग्रेस देशकै ठूलो पार्टी भएकाले नेतालाई जिम्मेवारी दिने कुरामा पनि चुनौती रहेको डा.राणाको भनाइ छ ।

‘फेरि पनि निर्वाचनमा सबैलाई टिकट नहुनसक्छ’, उनले भनेकी छिन्, ‘पार्टीका कार्यकर्ताले त्याग गरेर पनि पार्टीलाई बलियो बनाउन र जिताउन लाग्नुपर्छ ।’

उनले कांग्रेसका हरेक कार्यकर्तालाई मिलाएर लैजान पार्टी सभापतिले अधिकतम पहल गरेको बताएकी छिन् ।

उनले कांग्रेसका जनप्रतिनिधिलाई सुशासन कायम गरेर जनताले देख्ने विकास तथा पारदर्शी काम गर्न आग्रह गरेकी छिन् ।

‘जनप्रतिनिधिले जनताले देख्ने काम गर्नुपर्छ’, उनले भनेकी छिन्, ‘त्यत्तिले मात्र पुग्दैन। पारदर्शी र जिम्मेवार भएर काम गर्नुहोला ।’

नेता कार्यकर्तालाई सामाजिक संजालमा जथाभावी नलेख्नसमेत उनले आग्रह गरेकी छिन् ।

‘पार्टीमा भएका असहमतिलाई पार्टीभित्रै राखेर हल गर्न सकिन्छ’, डा.राणाले भनिन्, ‘विचार र सिद्धान्त बुझेर पार्टीमा लागेका नेता कार्यकर्ताले पार्टीविरुद्धमा समाजिक संजालमा लेख्नु राम्रो हुँदैन ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशी, पर्वतका निर्वतमान सभापति खिमप्रसाद भुसाल, पूर्वसभापति नवराज गुरुङ, तरुण दलका अध्यक्ष विद्वान गुरुङ्ग लगायतले सम्बोधन गरेका थिए ।

Published : Wednesday, 2022 June 22, 8:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया