आगामी चुनावमा कांग्रेसलाई ठूलो पार्टी बनाउन परिचालित हुन्छौँ : तरुण अध्यक्ष गुरुङ

पोखरा । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन भूमिका खेल्ने बताएका छन् ।

पोखरामा सोमबार तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाएको भन्दै अबको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी कांग्रेस बन्ने बताए ।

अध्यक्ष गुरुङले केपी ओलीले दुईतिहाईको बहुमत हुँदा पनि कुनै कुरा जोगाउन नसकेको बताए ।

ओलीले संविधानमाथि बारम्बार धावा बोलेको अध्यक्ष गुरुङले बताएका छन् । ‘संविधानमाथि बारम्बार धावा बोल्ने, यो संविधान र लोकतन्त्रमाथि नेपाली कांग्रेसको एकता र गठबन्धन बन्न गयो’, उनले भने, ‘गठबन्धनले आज देशव्यापी रुपमा नेपाली जनताको मन जितेको छ । गठबन्धनले निर्वाचन पनि जितेको छ ।’

निर्वाचन शिक्षाका बारेमा मतदातालाई समयमा सिकाएको भए गठबन्धनले अझै धेरै पालिकाहरूमा जित्ने उनको भनाइ छ । कतिपय पालिकाहरूमा गठबन्धनको ४० प्रतिशतसम्म मत खेर गएको गुरुङले बताएका छन् ।

‘केपी ओलीजीले आफ्नो सत्ता, आफ्नो पार्टी र जनताको भरोसा पनि जोगाउन सक्नु भएन, महिला दिदीबहिनीको अस्तित्व पनि जोगाउन सक्नुभएन’, गुरुङले भने, ‘ओलीले मुलुकको अस्तित्व पनि जोगाउन सक्नुभएन ।’

ओलीको नेकपा भन्ने पार्टी कांग्रेसका कारणले नफुटको उनले बताए । उनले भने, ‘ओलीको दम्भका कारणले नेकपा फुटेको थियो ।’

तरुण दल जनतासँग सँगै बसेर काम गर्न चाहेको अध्यक्ष गुरुङले बताएका छन् । उनले देशव्यापरी रुपमा तरुणहरू परिचालित हुने बताए ।

आउने निर्वाचनमा तरुणहरू पनि प्रतिस्पर्धामा अगाडि बढ्ने उनले बताएका छन् ।

Published : Monday, 2022 June 20, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया