निर्वाचनसम्म गठबन्धन आवश्यक छ : डा.आरजु राणा, बालेन र रविप्रति नयाँ टिप्पणी

पोखरा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणाले निर्वाचनसम्म गठबन्धन आवश्यक रहेको बताएकी छिन् ।

सोमबार पोखरामा नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै डा.राणाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्म गठबन्धन गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘ओलीले देश डुबाइ सकेका थिए ।’ संविधान र देश बचाउन ५ दलीय गठबन्धन गर्नुपरेको डा.राणाको भनाइ छ ।

उनले स्थानीय तहको निर्वाचनमा महिलाको भोटले कांग्रेसले जितेको बताएकी छिन् । ‘भोट दिएका महिलाहरूलाई धन्यावाद’, उनले भनिन्, ‘महिला पार्टी सभापति हुन पाएका छैनौँ । महिला पनि सक्षम छन् । हिन्दु धर्ममा पनि महिलालाई पहिलो प्राथमिकता दिइएको छ । पुरुषले नसकेपछि महिलालाई देवीको विभिन्न अवतारमा पठाइएको छ ।’

उनले कम्युनिस्ट जस्तो तल्लो तहको राजनीति कांग्रेसबाट नहुने बताइन् । ‘कम्युनिस्टले नगरेको काम पनि मैले गरेको हुँ भन्छन् । हामी भलाद्मी हुन्छौँ ।’

उनले संविधानलाई कार्यान्वयन गर्न चुनौति रहेको पनि बताएकी छिन् । ‘हामीभन्दा भिन्न विचार राख्ने मानिसहरू पनि छन् । यो विषयलाई विचार गरेर राजनीति गर्नुपर्छ’, डा.राणाले भनिन् ।

कांग्रेसको नेतृत्वमा बनेको संविधानको प्राबधानका कारण स्वतन्त्रले पनि उम्मेदवारी दिएर जित्न सकेको उनले बताएकी छिन् ।
‘जति पनि अहिले स्वतन्त्र उठेका उठेका छन् संविधानमा हामीले लेखेको आधारमा उठेको हो’, उनले भनिन्, ‘उनीहरूको प्रोफरमेन्स कस्तो हुन्छ ? त्यसमा पनि भरपर्छ ।’

बालेन्द्र शाह र रवि लामिछानेप्रति लक्षित गरेर कांग्रेस नेतृ डा.राणाले भनेकी छिन्, ‘एक्टर पनि एक्टिङ छोडेर पोलिटिक्स गर्ने, पत्रकार पनि पत्रकारिता छोडेर पोलिटिक्स गर्ने, जो पनि पोलिटिक्स गर्ने । हुन त राम्रो हो रमाइलो हुन्छ, होइन ? विभिन्न किसिमका मान्छेहरू विभिन्न विचार बोकेर आउँछन् ।’

नेतृ राणाले भनेकी छिन्, ‘आफ्नो गुण के हो पहिचान गर्नुस् । अहिले जति पनि स्वतन्त्र रुपमा जितेका छन् नि ? उनीहरूले एउटा–एउटा गुट पहिचान गरी नेता बनेको हो ।’

‘बालेन्द्र शाहको प्रचार हेर्नुभयो सोसल मिडिया ? रुटिन अफ नेपालबन्दलाई उहाँले कतिमा कन्सल्टेन्सीमा हायर गर्नुभयो ? त्यो नभएको भए बालेनको आवाज आउने थिएन । रुटिनअफ नेपालबन्दलाई परिचालन गर्‍यो’, डा.राणाले भनेकी छिन् ।

कोरोनाका बेला ओली सरकारले काम गर्न नसकेको बताएकी उनले कांग्रेसले त्यो बेला धेरै काम गरेको उल्लेख गरिन् ।

‘कोभिडको बेलामा ओली सरकारले सिन्का भाँचेन । जति काम नेपाली कांग्रेसले गर्‍यो । त्यो बेलामा कांग्रेसले धेरै नेपालीको ज्यान बचायो । कांग्रेसले धेरैको घरमा खाना पुर्‍यो, अनाज वितरण गर्‍यो, शव जलाउने काम पनि गर्‍यो’, डा.राणाले भनेकी छिन् ।

उनले कांग्रेस नेतृत्वको गठबन्धनको सरकार आएपछि दीर्घ रोगीहरूलाई ५–५ हजार दिने निर्णय गरेको बताएकी छिन् । ‘हामीले मसिनो गरेर वडा र गाउँको जनताको सेवा गर्‍यौँ भने स्थानीय तहले धेरै काम गर्न सक्छ’, उनले भनिन्, ‘कैलालीका धेरै वडामा अहिले पनि असाय मानिसहरू एक्लै बस्ने गरेको छन् । वृद्ध भत्ता र दीर्घ रोगीलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय सरकारले गरेको छ ।’

उनले स्थानीय तहका जनप्रतिनिधिहरूले इमान्दारिताका साथ जनताको काम गर्नुपर्ने बताएकी छिन् । ‘स्थानीय तहका जनप्रतिनिधिलाई ठूलो च्यालेञ्ज छ । काम गर्न चुनौति छ’, उनले भनिन्, ‘कर्मचारी साथीहरूलाई सम्झाएर बुझाएर काम गराउन आग्रह गर्नुपर्छ ।’

उनले भनेकी छिन्, ‘पालिकाको प्रमुखलाई धेरै ठूलो कामको चाप हुन्छ । हाम्रो पार्टीको तरुण र नेविसंघका भाईहरूलाई सहयोग माग्ने हो भने काम गर्ने तरिकामा सहज हुनेछ ।’

डा.राणाले प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने गरेको बताइन् ।

उनले भनेकी छिन्, ‘पदमा पुगेपछि धेरै गर्छु भन्ने लागेको हुन्छ तर, पूरा गर्न गाह्रो छ । प्रधानमन्त्री देउवालाई पनि उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने गरेको मैले नजिकबाट देखेको छु ।’

प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको उनको भनाइ छ । उनले प्रधानमन्त्री देउवा देशमा पाँच पटक प्रधानमन्त्री भएको तर, जनचाहनाअनुसार काम गर्न गाह्रो भएको बताइन् ।

‘देशमा पैसाको अभाव छैन । धेरै पालिकामा बजेट फ्रिज भएका पनि छन् । तरुणसँग मिलेर जानुपर्छ’, उनले भनेकी छिन् ।
‘हामी सयको स्पिडमा काम गर्न सोँच्छौँ । कर्मचारीहरू दशको स्पिडमा हिँड्छन्’, उनले भनेकी छिन् ।

Published : Monday, 2022 June 20, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया