कुरा मिलाउन गृहमन्त्री खाणद्वारा माधव नेपालसँग भेट, तराईमा खुसीयाली ल्याउने तयारी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

आइतबार काठमाडौंको मीनभवनस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा खाणले नेपालसँग नागरिकता विधेयकको विषयमा कुराकानी गरेका हुन् ।

गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानून हेर्ने सह–सचिव कोमल खत्रीलाई साथमा लिएर गृहमन्त्री खाण अध्यक्ष नेपाललाई भेट्न पुगेका थिए । एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे पनि भेटमा सहभागी थिए ।

नागरिकता विधेयक चालू संसदमा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृह मन्त्रालयले जनाएको छ ।

‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरूप गृहमन्त्रीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । त्यसकै लागि गृहमन्त्री खाणले सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेका हुन् ।

गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका थिए ।

उनले यसअघि प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष खड्गप्रसाद ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिसकेका छन् ।

सबै नेताहरूसँगको भेट सकारात्मक भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधिसभामा पेस गरेको छ ।

नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगीकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।

विशेष गरेर नागरिकताको धेरै समस्या रहेको छ । सो समस्या समाधान गर्न गृहमन्त्री खाणले गृहकार्य गरिरहेका छन् ।

Published : Sunday, 2022 June 19, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया