तिमिल्सिनाले मन्त्रीलाई फसाए, फाइल गायब बनाएर बचाउन उर्जा र भूमिसुधार मन्त्री सक्रिय

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको सदस्यमा नक्कली शैक्षिक प्रमाणपत्र देखाएर नियुक्ति पाएको उजुरी परेपछि राजीनामा दिएका माधव तिमिल्सिनाका विषयमा अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

तिमिल्सिनाका विषयमा सरोकारवाला निकायले अनुसन्धान र कारबाही प्रकृया निकै ढिलो अगाडि बढाएको भन्दै सहकारीका अभियन्ताहरूले आक्रोश पोखेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो तिमिल्सिनाको शैक्षिक प्रमाणपत्र र कीर्ते काण्डबारे अनुसन्धान गरेको थियो ।

अख्तियारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठलाई पत्र पठाएर तिमिल्सिनाको नियुक्ति र नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा जानकारी माग गरेको थियो । तिमिल्सिना ललितपुर माओवादीका नेता पनि हुन् ।

अख्तियारले पत्र पठाएपछि तिमिल्सिनालाई कार्यकक्षमा बोलाएर मन्त्री श्रेष्ठले ‘शैक्षिक प्रमाणपत्र नक्कली होइन’भन्ने कागज बनाएर राजीनामा गर्न दवाव दिएको मन्त्रालय स्रोतको भनाइ छ । त्यसपछि तिमिल्सिनाले पदस्थापना नै नगरेर बोर्डको सदस्यबाट राजीनामा दिएका थिए ।

‘राष्ट्रिय सहकारी विकास बोर्डको सदस्य नियुक्तिका विषयमा अख्तियारबाट मन्त्रीज्यूलाई पत्र आएको थियो’, स्रोतले भन्यो, ‘मन्त्रीज्यूले माधव तिमिल्सिनालाई बोलाउनुभएको थियो । के–के भयो थप जानकारी भएन ।’

सीआईबीले सरकारी कागजपत्र कीर्ते काण्डमा अनुसन्धान गरेको थियो । सीआईबीले करीव साढे एक महिना अगाडि राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालय पुल्चोक, ललितपुरबाट कागजपत्रहरू कब्जामा लिएर लगेको थियो । सीआईबीका ईन्स्पेक्टरको नेतृत्वमा आएको टोलीले माधव तिमिल्सिनासम्बन्धी कागजपत्र लगेको हो ।

बोर्डका उपाध्यक्ष मित्रराज दवाडीले सीआईबीले कागजपत्र लगेको स्वीकार गरे पनि कागजपत्र मन्त्रालयबाट लगेको बताए । उनले भने, ‘सीआईबीले हामी कहाँबाट लगेको छैन होला । मन्त्रालयबाट लग्यो होला ? मन्त्रालयबाट लगेको हो ।’

दवाडीले भने, ‘कसले कारबाही गर्ने हो र ? माधव तिमिल्सिनाजी राजीनामा दिएर हिँड्नुभएको हो । उहाँको पदस्थापना नै भएको थिएन । उहाँको शैक्षिक प्रमाणपत्रको कुरा बोर्डमा सम्बन्धित विषय भएन । शैक्षिक प्रमाणपत्र सबै मन्त्रालयमा पेश गर्ने हो ।’

बोर्डका प्रशासन प्रमुख मुकेश कर्णले माधव तिमिल्सिनाका विषयमा के कसो भएको हो आफूलाई धेरै जानकारी नरहेको बताए । उनले भने, ‘प्रहरीको टोली आएको थियो । केही कागजपत्र लिएर गएको छ । त्योभन्दा मलाई धेरै जानकारी छैन ।’

सीआईबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता श्यामकुमार महतोले सीआईबीले शैक्षिक प्रमाणपत्र नक्कलीको अनुसन्धानभन्दा पनि कीर्ते गरेको हो वा होइनभन्ने विषय हेर्ने गरेको बताए ।

माओवादी केन्द्र निकटका तिमिल्सिनालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठले बोर्डको सदस्यमा नियुक्त गरेकी थिइन् । तिमिल्सिना प्रतिभा बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् ।

तिमिल्सिनालाई कारबाहीबाट बचाउन र आफू पनि बच्न मन्त्री श्रेष्ठले ठूलो दवाव दिएको स्रोतको भनाइ छ । तिमिल्सिनालाई बचाउन उर्जामन्त्री पम्फा भुसाल पनि लागेको भूमिसुधार मन्त्रालयमा चर्चा छ ।

Published : Saturday, 2022 June 18, 3:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया