गृहमन्त्री खाणको जिल्लामा कांग्रेसलाई शक्तिशाली सफलता, विष्णु पौडेललाई झट्का लाग्यो

भैरहवा । रुपन्देहीमा जिल्ला समन्वय समिति (जिसस)को प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चापागाइँ विजयी भएका छन् ।

शनिबार भैरहवामा भएको निर्वाचन प्रक्रियामा गठबन्धनका तर्फबाट चापागाइँले प्रमुखमा उम्मेदवारी दिएका थिए । चापागाइँले २० मत ल्याइ विजयी भएका हुन् ।

चापागाइँसँग प्रतिद्वन्द्वी एमालेका नरबहादुर घर्ती मगर पराजित भएका छन् । मगरले १२ मत पाएका छन् ।

उप–प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामकृपाल धोबी विजयी भएका छन् । धोबीले १६ मत पाएका छन् । एमालेकी पवित्रादेवी श्रेष्ठले १५ मतसहित पराजित भएकी छिन् ।

महिला सदस्यमा कांग्रेसकी बिष्णुमाया सुवेदी जयसवाल, दलित वा अल्पसंख्यकमा कांग्रेसका राजमनप्रसाद हरिजन, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान र ऋषिराम बस्याल तथा लोसपाका मुकेशकुमार पाण्डे विजयी भएका छन् ।

माओवादी केन्द्रकी मञ्जु परियार र लोसपाकी बुधनी चमार निर्वाचित भएका छन् । जिससमा रुपन्देहीमा ३२ मत रहेको छ ।

रुपन्देही गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला पर्छ । शनिबार बिहान खाण भैरहवा झरेकै समयमा कांग्रेसले जिससमा बहुमत पदसहित जित हासिल गरेको छ ।

रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण जिससमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन शुक्रबारदेखि भैरहवामा अड्डा जमाएर बसेका थिए । तिलोत्तमा नगरपालिकाका मेयर समेत रहेका सभापति खाण जिससको मिशनमा सफल भएका छन् ।

रुपन्देही एमालेका नेता विष्णु पौडेलको पनि गृहजिल्ला पर्छ । एमालेले जिससमा नराम्रोसँग पराजय भोग्नु परेको छ ।

Published : Saturday, 2022 June 18, 3:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया